धनगढीका साँघुरा सडकले आवातजावतमा सास्ती
धनगढीः झण्डै ३ सय मिटर लम्बाइको धनगढी उप–महानगरपालिका–१ लक्ष्मीनगर टोल–पुष्पलाल चोक जोड्ने सडक ३० फिट चौडाइको बनाउनेगरि मापदण्ड बनाइएको छ।
तर सडक क्षेत्रमा बनाइएका भौतिक संरचना हटाउन नसक्दा पूरै ३ सय मिटरमा एउटै मापदण्डअनुसार काम भएको छैन्।
सडकको सुरुवाती भाग र अन्तिम भाग पुष्पलाल चोकमा जग्गा खाली गराउन नसक्दा मापदण्ड अनुसार सडक नबनेको देखिन्छ।
सो ठाउँमा कालोपत्रे र नाली निर्माण नगरी छोडिएको छ। जसका कारण ढल निकास नहुँदा वर्षातमा डुबान हुने जोखिम बढेको दलबहादुर बोगटीले बताए।
संघीय सरकारको सघन सहरी विकास कार्यक्रम अन्तरगत २ वर्ष अघि धनगढीकै जाली– शिवनगर सडक निर्माण गरिएको थियो।
तर सो सडकको शिवनगर चोक जोड्ने झण्डै २० मिटर क्षेत्रमा पनि मापदण्डअनुसारका काम हुन सकेको छैन्। सडक क्षेत्र मिचेर बनाइएका संरचना हटाउन नसक्दा त्यहाँ कालोपत्रे हुन सकेन।
ढल निकासका लागि नाली निर्माण समेत नगरि काम सम्पन्न भएको कार्यक्रम कार्यान्वयन गरेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ।
सघन सहरी विकास कार्यक्रम अन्तरगत बनेको अन्य सडकमा पनि यस्तै खालको समस्या रहेको गुनासो नगरबासीले गर्दै आएका छन्।
धनगढीमा सघन सहरी अन्तर्गत मात्रै होइन प्रदेश सरकार र स्वयं उप–महानगरपालिकाले निर्माण गरेका सडकमा पनि भौतिक संरचना नहटाएर काम गर्ने क्रम बढेको पाइन्छ।
धनगढी उप–महानगरपालिकाका इन्जिनीयर दिजराज भट्टले भौतिक संरचना हटाउन नसकेको कुरा स्वीकार गरेका छन्।
‘सडकको पुरानो मापदण्ड अनुसार घरहरु बनेका छन्। अहिले फरक खालको मापदण्ड बनेका कारण समस्या देखिएको छ,’ भट्टले दिनेशखबरसँग भने, ‘घर धनीहरुको सहमतिमा सडक क्षेत्र फराकिलो बनाउने प्रयास गर्दै आएका छौँ। कानूनी हिसाबले संरचना हटाउन चुनौतीपूर्ण छ। तर नयाँ घर तथा संरचना बनाउन भने तोकिएको सडक क्षेत्र छोडेमा मात्रै नक्सा पास गर्ने गरेका छौँ।’
उप–महागरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले सडक क्षेत्र मिचे बनाइएका संरचना हटाउन प्रयास गर्ने गरिएको दाबी गरेका छन्। धेरै ठाउँमा घरधनीकै सहमतिमै भौतिक संरचना खाली गराएको बताउँदै उनले केही स्थानमा भने अझै समस्या यथावत रहेको जनाए।