सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार र आन्दोलनरत उखु किसानबीच सहमति

। फोटो स्रोत ।
२०७७ पुष १३, १०:४४ रासस

उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ।

मङ्सिर २८ गतेदेखि आन्दोलन गर्दै आएका किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीबीच आज मन्त्रालयमा भएको बार्तामा चार बुँदे समझदारी भएको जनाइएको छ। 

२१ दिनभित्र सबै चिनी उद्योगको बक्यौता रकम उपलब्ध गराउन सहमति भएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए। उनका अनुसार १६ दिनदेखि आन्दोलनरत किसानले मङ्गलबारबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर जिल्ला फर्कने सहमति भएको छ। २१ दिनभित्र पनि उखुको बक्यौता रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई मन्त्रालयले कानूनी रुपमा कारवाही गर्ने सहमति भएको छ। 

यसैगरी आजको वार्तामा उखुको अनुदान रकम र भुक्तानी गर्नुपर्ने रकम फरक परेकालगायत विभिन्न विषय तथा समस्या समाधानका लागि एक अध्ययन समिति गठन गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए। उनका अनुसार सो समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र कृषि मन्त्रालयका प्रतिनिधि रहनेछन्। किसानले विभिन्न उद्योगबाट  ९२ करोड रुपैयाँ बक्यौता रकम लिन बाँकी रहेको बताउँदै आएका छन् भने उद्योग मन्त्रालयको तथ्याङ्कमा ६५ करोड मात्र बाँकी रहेको छ। 

कमेन्ट लोड गर्नुस