सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना प्रभावितलाई लक्षित प्रदेश सरकारको स्वरोजगार कार्यक्रम निस्प्रभावित हुने संकेत

२०७७ पुष ११, ०१:५० नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावितलाई लक्षित गर्दै ल्याएको स्वरोजगारमूलक कार्यक्रम प्रभावकारी नहुने संकेत देखिएको छ।

प्रदेश सरकारको कृषि मन्त्रालयले कोरोना प्रभावित तथा विदेशबाट फर्केका युवालाई लक्षित गरेर ल्याएको स्वरोजगार कार्यक्रमप्रति लक्षित वर्ग नै आकर्षण हुन नसकेपछि कार्यक्रमको उद्देश्य प्राप्ति हुनेमा आशंका गरिन थालिएको छ। 

बेरोजगारले नै स्वरोजगारमुलक कामका लागि आवेदन नदिएपछि विनियोजित बजेट पनि फ्रिज जाने जोखिम समेत बढेको छ। 

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का शेरबहादुर धामी भारतबाट स्वदेश फर्किएका थिए। 

स्वदेशमै कुनै स्वरोजगारमूलक पेशा व्यवसाय गर्ने मनसाय बनाएका धामीले भैसी पालनको लागि प्रदेश सरकारले अनुदान वितरण गरिरहेको सुनेपछि पशु सेवा विज्ञ केन्द्र धनगढीमा आवेदन दिएका थिए। तर छनोट भए पनि भँैसी पालनको लागि ६० हजार मात्र अनुदान पाउने सुनेपछि त्यो रकमले सोचे अनुसारको व्यावसायिक भँैसी पालन गर्न नसकिने धामी बताउँछन्। 

धमीले भने, ‘खै ६० हजार पाउने भन्छन्, त्यो पैसाले त व्यवसाय गर्न पुग्दैन तर पनि थपथाप गरेर काम सुरु गर्नुपर्ला, भारत जाने मन भने छैन।’ 

कोरोना महामारीपछि स्वदेश फर्किएका अधिकांश युवाको आफ्नै ठाउँमा केही न केही गर्ने तर विदेश भने नफर्किने साझा प्रतिवद्धता छ। 

प्रदेश सरकारले पनि कोरोनाको कारण विदेशमा रोजगारी गुमाएकाहरुका लागि कार्यक्रमको घोषणा गर्दा सबै उत्साहित भएका थिए। पशु सेवा विज्ञ केन्द्रमार्फत पशु पालन कार्यक्रममा अनुदानका लागि प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयले आवेदन पनि माग्योे।  

सेवा विज्ञ केन्द्र कैलालीले १ करोड ८७ लाख बजेट अनुदानमा उपलब्ध गराएको छ। कैलालीका सबै स्थानीय तहबाट पहिलो चरणमा पशु सेवा विज्ञ केन्द्रमा १२ हजार ८ सय ५९ जनाले पशुपालन गर्ने इच्छापत्र पेश गरेको बताइको छ। 
तर स्वरोजगार कार्यक्रम कार्यविधिको अनुसूची ३ अनुसार कार्ययोजनासहित ४ सय ४१ जनाको मात्रै दोस्रो चरणमा आवेदन आएको बताइएको छ। ती मध्येबाट अन्तिम नामावली केही दिनमा सार्वजनिक गर्ने तयारी रहेको पशु विज्ञ केन्द्र धनगढीका पशु विकास अधिकृत एवं सूचना अधिकारी हरिप्रसाद जोशीले बताए।

कैलाली जिल्लामा कृषितर्फ स्वरोजगार हुन चाहनेहरुका लागि कृषि ज्ञान केन्द्र धनगढीलाई भने ६३ लाख ५० हजार बजेट पठाइएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

कृषि ज्ञान केन्द्रमा पहिलो पटक इच्छापत्र माग गर्दा जिल्लाभरबाट १२ सय ५६ आवेदन परेको भएपनि थप प्रमाण माग्दा ९१ जनाको मात्रै आवेदन दर्ता भएको जनाइएको छ। आएका ९१ निवेदन उपर छानबिन गर्दा ८८ जनाले अनुदान पाउने टुंगो लागेको र सम्झौता भइरहेको तर थोरै निवेदन आएको कारण आधा रकम मन्त्रालयलाई फिर्ता पठाउनुपर्ने अवस्था आउने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा बताए।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार स्वरोजगार बन्न चाहने विदेशबाट फर्केको युवाले स्वीकृत कार्ययोजना प्रस्तावका आधारमा गाई÷भैँसी पालन गर्न ६० हजार, बाखा्र, बंगुर, कुखुरा पालन गर्न ४० हजार र माछा पालन गर्न ३० हजार अनुदान पाउने उल्लेख गरिएको छ।

यसैगरी कृषि ज्ञान केन्द्रमार्फत तरकारी खेती, फलफूल, च्याउ खेती, मौरीपालन, पुष्प खेती र नर्सरी गर्न जनही ३० हजार अनुदान दिने बताइएको छ। अनुदान भुक्तानी माग्दा भने कम्तीमा अनुदान रकम बराबर व्यवसायमा लगानी हुनुपर्ने तोकिएको छ।

कुन जिल्लामा कति अनुदान?
कोरोना प्रभावित तथा विदेशबाट फर्केका युवा लक्षित स्वरोजगार कार्यक्रमका लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत कृषितर्फका लागि कृषि ज्ञान केन्द्र कैलालीलाई ६३ लाख ५० हजार, कञ्चनपुरलाई ४७ लाख ५० हजार, डडेल्धुरा ५२ लाख ५० हजार, डोटी ३२ लाख, अछाम ४७ लाख ५० हजार, बाजुरा ५२ लाख ५० हजार, बझाङ ४२ लाख ५० हजार, बैतडी ६३ लाख ५० हजार र दार्चुलालाई ३२ लाख बजेट अख्तियारी दिइएको छ।

पशु पालनका लागि हरेक जिल्लाका पशु सेवा विज्ञ केन्द्रलाई समेत अनुदान रकम पठाइएको छ। पशु पालनका लागि कैलालीलाई १ करोड ८७ लाख, कञ्चनपुरलाई ९९ लाख, डडेल्धुरा १ करोड ४ लाख, डोटी १ करोड ५५ लाख, अछाम १ करोड ४ लाख ५० हजार, बाजुरा ९४ लाख ५० हजार, बझाङ ७९ लाख, बैतडी १ करोड ४६ लाख र दार्चुलालाई ६३ लाख ५० हजार बजेट पठाइएको बताइएको छ।

कुल १५ करोड बजेट मध्ये अनुगमनका लागि १० लाख बजेट निर्देशनालयलाई र २४ लाख बजेट मन्त्रालयलाई छुट्याइएको जनाइएको छ।

तर कैलालीमा जस्तै अन्य जिल्लामा पनि अनुदानका लागि युवाहरुको आवेदन नआए कार्यक्रमको प्रभावकारितामै प्रश्न खडा हुने आशंका गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस