सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्झना होटलका चखेवा–चखेवी

टेकनारयण, शीतकुमारीका साथमा छोरी अमृता
टेकनारयण, शीतकुमारीका साथमा छोरी अमृता
२०७५ भदौ १२, ०५:३८

जस्तापाताले छाएको झुपडीको बाहिर सानो बोर्डमा लेखिएको छ सम्झना होटल । धनगढीको चकमेली चौकमा रहेको उक्त होटलभित्र  एकाबिहानै झाडो लगाइरहेका थिए टेक नारायण चौधरी ।  टक्क अडिएर हेरेँ त्यो दृश्य अनि प्रवेश गरेँ होटेलभित्रै । पछाडीपट्टी भाँडा माझिरहेकी थिइन् उनकी जहान शीतकुमारी चौधरी । कुराकानीको दौरानमा सुरुमै पस्केका हुन उनले जिन्दगीको यौटा भाका – ‘हेरिरहँे जिन्दगीकै डिलमा अडेश लगाएर एकोहोरो ।

त्यो अनुहार निकै प्रिय लाग्यो ।’ कसिंदै गएछ मायाको डोरी । मनमा, आँखामा, मुटुमा खै कता हो कता बास गरिन् रे कैलाली भादाकी शीत कुमारी चौधरीले । लाग्छ मनपरेको मान्छे भेटाउँदाको खुसी वर्णन गरेर साध्य हुन्न । त्यही भएर होला टेक नारायणले शब्दमा व्यक्त गर्न चाहेनन् । यति मात्र भने– ‘हामी खुसी थियौ र छौ पनि ।’ सप्तरीका टेक नारायण २०४६ सालमै पुगेका हुन कैलालीको धनगढीमा । उनले बेहडाबाबा माबिमा प्राबि तहमा अस्थायी शिक्षकको जगिर पाए । २०४८ सालमा स्थायी भए । भादागाउँमा डेरा लिएर चलाइरहे दैनिकी । त्यो त्यही भादा हो जहाँ हिजोआज होमस्टे सुरु गरिएको छ । कैयांै पर्यटकहरू रुचाउँछन् भादा जान । उनले त्यतै कतै देखेका हुन् शीत कुमारीका नशालु नयन । देख्न थालेका हुन् जिन्दगीका सपना । त्यसैले त पुगे उनी शीतकुमारीको घरमा हात माग्न । तर शीत कुमारीका जमिन्दार बुवा मञ्जुर भएनन् टेकको प्रस्ताव स्वीकार्न । निराश निराश फर्के उनी डेरामा । कैयौं दिनसम्म हरायो नीदभोक पनि । अन्तमा शीतकुमारीलाई भागाएर लगे ।  दुबैले प्रण गरे कहिल्यै नछुट्टिने । 

बिहेपछि शीत कुमारी डेढ वर्ष सप्तरीमा बसिन् । उनी सुनाउँछिन् –‘सप्तरी र कैलालीको भाषामा निकै नै फरक छ । सुरुसुरुमा त भाषा नबुझेर हैरान हुन्थेँ । नयाँ ठाउँ, नयाँ भाषा, नयाँ मान्छे, नयाँ परिवेश  । निकै नै गाह्रो भयो । पछि त बिस्तारै सबै कुरा सिक्दै गएँ ।’
अहिले उनका २ छोरा र एक छोरी छन् । जेठो छोरा योगेश काठमाडौंमा सबइन्जिनियरको पढाइ गरिरहेका छन् । माइलो छोरो र छोरी धनगढीमै पढिरहेका छन् । भादातिर पनि सम्बन्ध सुध्रिएको छ । छोरी जुवाईलाई बोलाउँछन बेलाबखत । 
२०६८ सालमा उद्योग वाणिज्य सँघ कैलालीले आयोजना गरेको सुदूरपश्चिम महोत्सवमा शीत कुमारीका पाँच दिदी बहिनी मिलेर केही सामान बेचेछन् । त्यसपछि पलाएछ उनमा नयाँ सोच । घरमा बुढाबुढीको सल्लाह भएछ र २०६८ सालमा सुरु गरेछन् होटल सम्झना । सुरुमा जम्मा ३ वटा टेबुल थिए जहाँ ६ जनालाई मात्र बस्ने ठाउँ हुन्थ्यो । बिस्तारै ग्राहक बढ्दै गए । १ लाख ५० हजार रुपैयाँ खर्च गरेर टहरो बढाए । अहिले २०  जना ग्राहकलाई बस्ने ठाउँ छ । दिउँसो २ देखि राती १० बजेसम्म खुला हुन्छ होटल । होटेलमा काम गर्ने अरु कोही छैनन् । बुढाबुढीले नै धानिरहेका छन् । हरियो मटर, तारेको लोकल लसुन अनि तारेकै खसीको मासु र माछा खानलाई पुग्छन् कुनैकुनै कार्यालयका हाकिमहरू पनि । टेक नारायणका अनुसार दैनिक सिध्दिन्छ ६ किलो खसीको मासु, ५ किलो माछा, २ किलो हरियो मटर, २ किलो स्थानीय लसुन र १ वटा लोकल कुखुराको मासु । कमाइ राम्रै भैरहेको होटलबाट । धनगढी शिवनगरमा अढाइतले घर बनएका छन् । चखेवा चखेवीको जस्तै प्रेम गर्छन् एक अर्कालाई । छोराछोरी पढाएका छन् । खान लाउन पुगेको छ । खुसी नै छन् दुबै जना । 


सुरुसुरुमा सप्तरीतिरै सरुवा मिलाउन नखोजेका हैनन् । शिक्षकको जागिर सरुवा गर्न त्यति सजिलो कहाँ हुनु । २७ वर्षसम्म बेहडाबाबा स्कूलमा अध्यापन गरेका उनलाई २ वर्ष अगाडी मात्रै दरवन्दी मिलान गर्ने भनी जिल्ला शिक्षाले छुइलिङ प्राबि जुगेडामा सरुवा गरिदियो । के कति कारणले हो कुन्नि त्यहाँको विद्यालयले उनलाई हाजिर नै गर्न नदिए पछि हाल उनी काजमा बिशालनगरको जनता आधारभूत विद्यालयमा पुगेका छन् । 
बाआमाको कान्छो छोरा टेक नारायण आफु जन्मेको ठाउँको सम्झनामा डुब्छन् कहिलेकाहीं । बुवाले धर्ती छेडेको धेरै भैसक्यो ८५ वर्षकी आमाले भेटमा भन्छिन रे – ‘आफ्नै गाउँमा आएर बसे हुन्थ्यो ।’ आमाले भने जस्तो सजिलो कहाँ छ र । हेर्छन् केवल सप्तरी पुगेर केही दिन बसी फर्किदा आमाका परेलीका डीलबाट बगेका आँसुका थोपा ।  बाटोबाट फर्कीफर्की हेर्छन् रे उही आँगन जहाँ उनले छोडेका छन् बाल्यकालका पदचापहरू । भावुक मुद्रामा सुनाउँछन् उनी – ‘आमासँग छुट्टिदा भारी बनेको मनलाई डो¥याउँदै पुनः हिँड्नु छ जिन्दगीको गोरेटोमा । आखिर कर्म नगरी कहाँ चल्छ र जिन्दगी ।’ 
कमेन्ट लोड गर्नुस