सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरेमा सडक विकास: तर मानिसहरूको चाहिँ किन भइरहेछ उठीबास?

भीमदत्त राजमार्गमा बसेका पहिरो विस्थापित परिवार
भीमदत्त राजमार्गमा बसेका पहिरो विस्थापित परिवार
२०७७ पुष ८, १२:२१ कमल सावद

धनगढीः कैलालीको चुरे पहाड क्षेत्रमा जथाभाबी सडक खनिएपछि पहिरोको जोखिम प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ। गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको बजेटमा निर्माण हुने सडकका कारण चुरे पहाड क्षेत्रका धेरैे ठाउँमा पहिरो गएको छ।

जसका कारण चुरे गाउँपालिकाका मात्रै ६० बढी परिवार विस्थापित भएका छन। झण्डै एक दर्जन परिवार नयाँ निर्माण गरिएका सडकका कारण विस्थापित भएका हुन। 

उनीहरु गौरीगंगा नगरपालिका चौमालाको जंगल क्षेत्रमा बस्दै आएका छन। स्थानीय सुरेश आर्यालले चुरे गाउँपालिका–५ को गुणी र पट्रेनिमा गएको पहिरोको एक कारण सडक पनि भएको बताए। 

“बस्तीमाथिबाट जथाभाबी सडक खनिएपछि बर्खामा पहिरो गयो। हुन त त्यो ठाउँमा पहिले पनि पहिरो गएको भन्ने पनि थियो। सडककै कारणले हो की भन्ने लागेको छ,” उनले भने।

चुरेको गुणीका स्थानीयलाई लक्षित गरि खनिएको सडकका कारण गएको पहिरोले ६ बढि परिवार विस्थापित भएका हुन। 

सो गाउँ ठूलो रहेको र गाउँको केही क्षेत्रमा पहिरो गएको दाबी वडा कार्यालयको छ। तर गाउँपालिकाले निर्माण गरेको सडकका कारण पहिरो गएको हुनसक्ने दाबी वडा अध्यक्ष नरबहादुर तामाङ भने अस्वीकार गर्छन्। 

“पहिरोका कारण घरहरु विस्थापित भएको कुरा साँचो हो। तर हामीले खनेको सडककै कारण हो भन्न मिल्दैन्। जथाभावी रुख कटानी पनि कारण हो। अब वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम पनि लागु भएको छ। जथाभावी हुने फडानी रोकिन्छ की भन्ने विश्वास गरेका छौँ” उनले भने। 

भौगोलिक बनावटका आधारमा पनि कमजोर मानिने चुरे क्षेत्रमा पहिरो जानुका विविध कारण भएपनि प्रमुख कारण जथाभावी सडक निर्माण गरिनु नै भएको दाबी गरिन्छ। 

कानूनअनुसार गर्नुपर्ने वातावरणीय प्रभाव मुल्यांकन समेत नगरि निर्माण गरिने सडकका पहिरो जान थालेपछि बस्तीहरु नै विस्थापित हुने अवस्था सिर्जना भएको छ। 

गुणी र पट्रेनी प्रतिनिधिमुलक गाउँ भएपनि चुरेका अधिकांश स्थानमा सडककै कारण पहिरो गएको बताइन्छ। 

चुरे पहाड क्षेत्रमा जथाभावी खनिने नयाँ सडकका कारण कयौँ बस्तीहरुको उठिवास भएको छ। तर गाउँपालिकाका उपाध्यक्ष दीपादेवी साउँद पनि पहिरोको कारण सडक भएको दाबीलाई अस्वीकार गर्छिन्। 

उनले दिनेश खबरसँग भनिन्, “पहिरो धेरै ठाउँमा गएको छ। विभिन्न कारणले पहिरो गएको छ। तर सडककै कारणले हो भन्न मिल्दैन। राजमार्र्ग क्षेत्रमा बसेकाहरु तराई गएका छन। उनीहरुको व्यवस्थापन गर्न सकिएको छैन।”

भीमदत्त राजर्माको छेउछाउमा बसोबास गर्दै आएका चुरेका पहिरो पीडित अहिले तराई झरेका छन। ६० बढि परिवार गौरीगंगा नगरपालिको चौमाला नजिक माघीमा जंगल क्षेत्रमा बसोबास गर्दै आएका हुन। 

उनीहरुलाइ बुधबारसम्म जंगल क्षेत्र खाली गर्न वन कार्यालयहरुले निर्देशन दिएका छन। तर चुरेमा पहिरो गएपछि बेघर भएका ती पीडितको जाने ठाउँ छैन। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस