धनगढीका जनप्रतिनिधि र कर्मचारीहरूको सेवा सुविधामा मात्रै यो बर्ष साढे १६ करोड खर्च हुने
धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले तलव, भत्ता र अन्य सेवा सुविधामा मात्रै यो बर्ष साढे १६ करोड रुपैयाँ खर्च गर्ने भएका छन् । भर्खरै उप–महानगरपालिकाले सार्वजनिक गरेको संचित कोषबाट बिनियोजन हुने अनुमानको खर्च अनुसार जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधामा मात्रै १६ करोड ५७ लाख ८५ हजार रुपैयाँ खर्च हुने भएको हो ।
विगतमा धनगढी नगरपालिका हुँदा सिङ्गो नगरपालिकाको बजेट नै १६ करोड रुपैयाँको हाराहारीमा हुने गरेकोमा अहिले सो बजेट जनप्रतिनिधि र कर्मचारीहरूले एकै बर्षमा तलव, भत्ता र अन्य सेवा–सुविधामा मात्रै खर्च गर्ने भएका हुन् । उप–महानगरपालिकाले सार्वजनिक गरेको संचित कोषबाट बिनियोजन हुने अनुमानको खर्च अनुसार सवैभन्दा बढी कर्मचारीको तलवमा ७ करोड रुपैयाँ खर्च हुने भएको छ ।
यस्तै जनप्रतिनिधिको तलवमा ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पोशाक, औषधी उपचार खर्च, महंगी भत्ता, कर्मचारीको बैठक भत्ता, कर्मचारी प्रोत्साहन तथा पुरस्कार, पदाधिकारी बैठक भत्ता, पदाधिकारी अन्य सुबिधा, पदाधिकारी अन्य भत्ता, पानी, संचार महसुल, पदाधिकारी र कर्मचारीलाई ईन्धनको नाममा थप साढे ६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।