सुदूरपश्चिममा आईसीयू र भेन्टीलेटरको अभाव कायमै, संक्रमितको उपचारमा समस्या हुने
धनगढीः सुदूरपश्चिम प्रदेशका अस्पतालमा आईसीयू र भेन्टीलेटर सेवाको अभाव जारी रहेकाले जाडोसँगै कोभिड १९ का बिरामी बढे उपचारमा कठिनाइ हुने अवस्था आउने देखिएको छ।
स्रोत र साधान अभावका कारण डडेल्धुरा र सेती प्रादेशिक लगायतका अन्य अस्पतालहरुमा अझै आईसीयू र भेन्टीलेटर सेवा सञ्चालनमा कठिनाइ भइरहेको पाइएको छ। अस्पतालमा आउने बिरामीको चापको अनुपातमा डडेल्धुरा, सेती, महाकाली र टीकापुर अस्पतालमा उपकरण र दक्ष जनशक्तिको पनि अभाव छ।
जिल्ला अस्पतालहरुमा त झन् जनशक्ति सँगै अक्सिजन प्लान्टको समेत अभाव भइरहेको पाइएको छ। सुदूरपश्चिम प्रदेशमा झन्डै एक दर्जन सरकारी अस्पताल रहेपनि धनगढी बाहिरका अस्पतालमा स्रोत र साधनको अभाव कायमै रहेको हो।
धनगढी बाहिर सिकिस्त बिरामीको उपचारमा प्रयोग हुने उपकरणहरु र जनशक्तिको खाँचो टड्कारो छ। प्रदेश सरकारले २० वटा भेन्टीलेटर बिभिन्न १० वटा अस्पताललाई जनही २ थानका दरले वितरण गरेको भएपनि ती सञ्चालनमा ल्याउन दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसकिदा अस्पतालमा थन्क्याउनुपर्ने अवस्था आएको बताइएको छ।
टिकापुर अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर रेमकुमार राईले भने, ‘दक्ष जनशक्तिको अभावमा हामीले प्राप्त गरेका उपकरण सञ्चालन गर्न सकिरहेका छैनौँ।’ सुदूरपश्चिमको सबैभन्दा ठूलो र संघीय सरकार मातहत सञ्चालित डडेल्धुरा अस्पतालमा १५ वटा आईसीयू बेड रहेपनि कोभिडको लागि ३ वटा मात्र छुट्याइएको छ।
त्यहाँ ६ वटा भेन्टीलेटर भएपनि कोभिडका बिरामीका लागि एउटा पनि उपलब्ध नभएको अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझा बताउँछन्। ओझाले ठाउँ अभावका कारण तीन वटा आईसीयू बेडको व्यवस्थापन भने अस्पतालले गर्न नसकेको जनाए।
कञ्चनपुरको महाकाली अस्पतालमा ६ वटा आईसीयू बेड रहेपनि कोभिडको लागि कुनै पनि छुट्याइएको छैन। कोभिडको लागि २ भेन्टीलेटरर रहेपनि दक्ष जनशक्ति अभावका कारण बिरामीको उपचारमा समस्या भइरहेको अस्पताल बिकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए।
प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा १५ आईसीयूबेड र ११ भेन्टीलेटर रहेको जनाइएको छ। ती मध्ये १० वटा आईसीयू बेड र ५ भेन्टिलेटर कोभिडको लागि छुट्याइएको छ।
सेती अस्पतालमा दक्ष जनशक्ति रहेपनि बिरामीको चापको अनुपातमा कर्मचारी र उपकरण अभाव हुने चिन्ता हटिसकेको छैन।
अहिले अस्पतालमा नयाँ आउने बिरामीका लागि आईसीयूमा बेड खाली नभएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
सुदूरपश्चिम पहाडका सबै जिल्ला अस्पतालहरुमा पनि २÷२ थान भेन्टीलेटर प्रदेश सरकारले उपलब्ध गराएको भएपनि केहि जिल्लामा अझै उपकरण जडान भइनसकेको पाइएको छ।
उपकरण जडान भएका अस्पतालमा पनि उपकरण चलाउने दक्षजनशक्ति र अक्सिजन प्लान्ट नहुँदा कोभिड उपचार तयारी अझै पूरा भइसकेको छैन।
सोही कारण सुदूर पहाडका कोभिड बिरामीलाई उपचारका लागि धनगढी ल्याउँनुपर्ने बाध्यता हटेको छैन।