सुदूरपश्चिम पहाडमा बोटबिरुवामा लाग्ने रोगव्याधका कारण सुन्तला किसान हैरान
धनगढीः यो पुसको जाडोमा धेरै मानिस घाम ताप्दै सुन्तला खान रुचाउँछन्। तपाईँ पनि नेपाली पहाडको गुलियो वा अमिलो सुन्तला अवश्य नै मनपराउनु हुन्छ होला? सुदूरपश्चिममा सुन्तला खेतीबारेको एक चर्चा यस प्रकार छ।
सुदूरपश्चिमका ८ जिल्लामा सुन्तला खेतीको प्रबल सम्भावना भएपनि बोटबिरुवामा लाग्ने रोगका कारण किसान चिन्तित भएका छन। प्रदेशमा हाल सुन्तलाको उत्पादन वार्षिक ८ हजार मेट्रिक टनबाट बढ्न सकेको छैन।
हाल प्रदेशभर १५ सय हेक्टर क्षेत्रमा भइरहेको सुन्तला खेती धेरै गुणा बढाउन सकिने सम्भावना रहेको अधिकारीहरूको भनाइ रहेतापनि सो कुरालाई व्यवहारमा उतार्न पर्याप्त प्रयास हुनुपर्ने खाचो रहेको छ।
सुदूरपश्चिम प्रदेशमा हजारौँ हेक्टर जमिनमा सुन्तला खेती गरिँदै आएको भएपनि बोटबिरुवामा लाग्ने रोगव्याधका कारण किसानहरू हैरान भएका छन्। सुन्तला खेतीमा लाग्ने रोगव्याधको निदानका लागि पर्याप्त सरकारी सहयोग नपाएपछि किसानहरू सुन्तला खेती तर्फ आकर्षित हुन सकिरहेका छैनन्।
केही वर्षयता सुदूरपश्चिममा वार्षिक ८ हजार मेट्रिक टन जति सुन्तला उत्पादन भइरहेको छ। १५ सय हेक्टर क्षेत्रमा सीमित सुन्तला खेती अझै बढाउन सके किसानहरूले धेरै लाभ लिन सक्छन्। तर त्यो भन्दा पहिले सुन्तलाका बोटमा लाग्ने रोगको उपचार जरुरी भइसकेको पाइएको छ।
तपाईँलाई थाहा छ सुदूरपश्चिम प्रदेशको कञ्चनपुर बाहेकका सबै ८ जिल्लामा सुन्तला खेतीको प्रशस्त सम्भावना रहेको छ। तैपनि धेरै सुन्तला खेती योग्य जग्गा बाझै छन्। कृषि मन्त्रालयका अनुसार सुदूरपश्चिमको कैलाली सहितका ७ पहाडी जिल्लाका झन्डै १५ सय ६१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गर्ने गरिएको छ। त्यसबाट वार्षिक ८ हजार मेट्रिक टनको हाराहारी उत्पादन हुने गरेको छ।
आठ जिल्ला मध्ये डोटीमा सबैभन्दा धेरै २ हजार, कैलालीमा १३ सय, डडेल्धुरामा ११ सय, अछाम र दार्चुलामा ८(८ सय, बाजुरामा ७ सय, बझाङमा ५ सय र बैतडीमा सबैभन्दा कम १सय मेट्रिक टनसुन्तला उत्पादन हुने गरेको छ। तर हालैका वर्षहरूमा सुन्तलाका रुखबिरुवामा रोगको प्रकोप बढेपछि किसानहरू निकै चिन्तित बनेका छन्।
सुन्तलाका लागि प्रख्यात कैलालीको चुरे गाउँपालिकाका कृषि शाखा प्रमुख गोरखबहादुर सिंह भन्छन, “सुन्तलामा लाग्ने रोगका कारण किसानहरुमा सुन्तला खेती गर्ने उत्साह घटेको पाइएको छ। रुख बिरुवा टुप्पाबाट सुक्ने समस्या सबैभन्दा बढि देखिएको छ।
उपचार गरेपनि पुरै समस्याको समाधान हुन भने सकेको छैन। किसानले सुन्तलाको बर्गीकरण पनि गर्न नसक्दा मूल्य पाउन सकेका छैनन् भने उत्पादनमा समेत कमी आएको पाइएको छ।”
रोगव्याधकै कारण सुन्तला खेती फस्टाउन र विस्तार हुन सकिरहेको छैन। अहिले प्रदेशको १५ सय हेक्टरबाट जम्मा ८ हजार मेट्रिक टनमा सीमित सुन्तला उत्पादन निकै बढाउन सकिने सम्भावना भएपनि रोगव्याधकै कारण किसान मात्र होइन कृषि अधिकारिहरू पनि चिन्तित देखिन्छन्।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ कृषि प्रसार अधिकृत एवम् सूचना अधिकारी गोकुलप्रसाद बोहराले भने, “सुदूरपश्चिममा बगैँचाको रुपमा सुन्तला खेती गर्ने किसानको संख्या सानो छ। बोट रोप्दा पनि रुखो, ढुङ्गा भएको र खेतबारीको डिलमा बिरुवा रोप्ने हुँदा सुन्तलामा समस्या देखिएको पाइएको छ। बिरुवा लगाउदा गहिरो खाल्टो नखनेरै लगाउदा अनि मलखाद र सिचाइँको पर्याप्त प्रवन्ध गर्न नसक्दा समस्या आएको हो।”
अम्लीय माटो भएका भिरालो तथा घमाइलो पाखामा सुल्तलाको उत्पादन राम्रो हुने बताइन्छ। तर बोटबिरुवामा लाग्ने अनेक रोग र कीराले सताइएका किसानहरू सुन्तलाको बिरुवा छिटै सुक्ने, उचित मूल्य नपाउने, वर्गीकरणमा समस्या हुने जस्ता कारण आजित भइसकेका छन्।
के सुदूरका पाखापखेरुमा लगाइएका हजारौँ हजार सुन्तलाका बोटबिरुवामा लाग्ने रोगव्याधको कुनै निदान छैन त? कृषि मन्त्रालयका बरिष्ठ कृषि प्रसार अधिकृत बोहरा भन्छन्, ‘बिरुवा बचाउन र राम्रो उत्पादन लिन किसानले नजान्दा समस्या आएको हो। तापक्रम बढ्दा सुन्तलामा ढुसीजन्य, भाइरसजन्य र किराजन्य रोग बढेको पाइएको छ। यी समस्याको समाधान गर्न औषधि,सिचाइँ, र मलखादको समुचित प्रबन्ध गर्न सके समस्या समाधान गर्न सकिन्छ।’
सुदूरपश्चिम सुन्तलाको खपत र बजारीकरणमा कुनै समस्या नभएपनि रोगव्याधको प्रकोपका कारण भइरहेकै उत्पादनलाई निरन्तरता दिन कठिनाइ उत्पन्न भइसकेको पाइएको छ।
बोटबिरुवामा लाग्ने रोगको निदान खोज्दै उत्पादन बढाउन सकिने प्रशस्तै सम्भावना रहेपनि त्यसतर्फ सरकार र समुदायले पर्याप्त चासो दिएका छैनन्। फलतः लटरम्म सुन्तला फल्ने सम्भावना बोकेको सुदूरपश्चिम पहाडमा अहिले प्रदेश बाहिरबाट सुन्तला किन्नु पर्ने अवस्था छ।