पत्रकार महासंघ डोटीका अध्यक्ष बलायरद्वारा अक्षयकोष स्थापनाका लागि सहयोग
डोटी: नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्।
नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि बलायरले आफ्नो जन्मदिनको अवसरमा ११ हजार ५ सय ५१ रुपैंया सहयोग गरेका हुन्।
नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गिय तेजबहादुर खड्का(तेजु)को स्मृतिमा डोटी शाखाले यो कोषको स्थापना गरेको थियो।
कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन्। हालसम्म कोष स्थापनाका लागि १ लाख बढी रकम संकलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए।
प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ।
जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए।