सुदूरपश्चिममा कोरोनाको मृत्युदर बढ्यो, मंसिरमा मात्र २३ संक्रमितको मृत्यु
धनगढीः गत वर्षको चैतदेखि कोरोना संक्रमण फैलिएको सुदूरपश्चिम प्रदेशमा २ महिनापछि बाजुराकी २ वर्षीया बालिकाको पहिलो मृत्यु भएको थियो।
त्यसयता साउन मसान्तसम्ममा १२ जनाको मात्रै कोरोनाबाट मृत्यु भएकोमा पछिल्लो तीन महिनाको अवधीमा मात्र सो संख्या बढेर ६६ पुगेको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांकमा मृतकको संख्या ४६ उल्लेख भएतापनि सुदूरपश्चिमबाट अन्यत्र रेफर भई मृत्यु हुने समेतका गरी कुल मृतकको संख्या ६६ पुगेको तथ्यांक दिनेश खबरसँग छ।
जसअनुसार मंसिरमा मात्र २३ जनाको मृत्यु भएको छ। पछिल्लो समय जोखिमयुक्त उमेर समूह र दीर्घ रोग भएका व्यक्तिहरुमा समेत संक्रमण हुन थालेपछि प्रदेशमा मृत्युदर बृद्धि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्की बताउँछन्।
‘हामीले पहिल्यैदेखि भन्दै आएका थियौँ, बालबालिका, बृद्धबृद्धा तथा दीर्घ रोगीहरुमा कोरोना संक्रमण भयो भने मृत्युदर बढ्छ। स्वास्थ्य सुरक्षाका उपाय अपनाऔँ तर त्यसो हुन नसकेका कारण अहिले विगतमा भनिएअनुसारकै अवस्था आयो,’ कार्कीले भने।
धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा मात्र मंसिरको २८ दिनमा १४ जनाको मृत्यु भएको छ।
अस्पतालका अनुसार कार्तिक २८ गतेसम्म १३ जनाको मृत्यु भएकोमा मंसिर २८ मा आईपुग्दो सो संख्या बढेर २७ पुगेको छ भने कडा खालका संक्रमित बढेपछि अन्यत्र रेफर हुनेको संख्यामा समेत बृद्धि भएको छ।
अस्पतालले मंसिरमा १२ जना गम्भीर संक्रमित उपचार सम्भव नभएपछि अन्यत्र रेफर गरेको छ। अहिले पनि १३ जनाको आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।
स्वास्थ्य असावधानी बढ्नु प्रमुख कारण
सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेलले पछिल्लो समय कोरोनाको मृत्युदर बढ्नुको प्रमुख कारण स्वास्थ्य असावधानी भएको बताए।
उनले मानिसमा लापरवाही बढ्नु नै मृत्युदरको प्रमुख कारण भएको बताउँदै सामान्य लक्षण देखिदा हेलचक्रयाइ गर्ने, जथाभावी औषधी सेवन गर्ने र अवस्था जटिल भएछि मात्र अस्पताल जाने प्रवृत्तिले समस्या भएको जनाए।
‘सरकारले मापदण्ड बनाएर स्वास्थ्य संस्थाहरुमा रुघाखोकी लागेर सबै बिरामीको कोरोना परीक्षण अनिवार्य गर्नुपथ्र्यो,’ फिजिसियन डाक्टर शर्माले दिनेशखबरसँग भने।
‘अहिले जति पनि गम्भीर बिरामी आइरहनुभएको छ। उहाँहरु सामान्य समस्या देखिदा मेडिकलबाट औषधी लिएर खाने गरेको बढी देखिन्छ। निजी अस्पतालबाट आउने कतिपय बिरामीलाई त अन्तिम अवस्थामा मात्र पठाएको पाईन्छ। यो कारण मृत्युदर बढ्यो।’
स्वास्थ्य सुरक्षाका मापदण्डको प्रयोग पनि घट्यो
विगतमा जारी निषेधाज्ञा र लकडाउनका कारणले संक्रमणको दर पनि केही हदसम्म नियन्त्रण गर्न सकिएको तर पछिल्लो समय स्वास्थ्य सुरक्षाका मापदण्डको प्रयोग गर्न समेत वेवास्ता गर्दा संक्रमणसँगै मृत्युदर पनि बढिरहेको उनले बताए।
‘पहिले एक जिल्लाबाट अर्को जिल्ला जादा अनिवार्य कोरोना परीक्षण रिर्पोट माग्ने गरिन्थ्यो। तर अहिले अवस्था त्यस्तो छैन्। लकडाउन र निषेधाज्ञा बैज्ञानिक तबरले खोल्नुपर्नेमा त्यसो गरेको देखिएन,’ फिजिसियन डाक्टर शर्माले भने।
‘जथाभावी हुने आवातजावत बढ्दा पनि संक्रमण बृद्धि हुन थालेको देखिन्छ । सम्बन्धित निकायले अनावश्यक भीडलाई व्यवस्थापन गर्नुपथ्र्यो तर हुन सकेको देखिदैन्।’
सामाजिक विकास मन्त्रालय भन्छ–संघीय सरकारकै प्रमुख भूमिका हुन्छ
प्रदेशमा संक्रमणसँगै मृत्युदर समेत बृद्धि भइरहेका बेला प्रदेश सरकार लगायतका निकायले भने रोकथामका रणनीति अवलम्बन गर्न चासो दिएको पाईदैन्।
तर सामाजिक विकास मन्त्रालयले भने कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा प्रमुख भूमिकासंघीय सरकारकै हुने बताउने गरेको छ। मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्की कोरोना महामारी नियन्त्रणमा संघीय सरकारकै भूमिका मुख्य भएको बताउँछन्।
उनले संघीय सरकारले बनाएकै नीति र मापदण्डका आधारमा प्रदेश सरकार पनि चल्ने गरेको बताउँदै आवश्यकता हेरेर केही कुराहरु मात्र परिमार्जन गर्न सक्ने जनाए।