कैलालीका सबै क्रशर उद्योग मापदण्ड विपरीत (नामावलीसहित)
धनगढीः कैलालीमा सञ्चालन हुँदै आएका ९ वटा क्रशर उद्योगहरु मापदण्ड विपरित सञ्चालनमा रहेको एक नयाँ प्रतिवेदनले देखाएको छ। केही उद्योगहरु भने दर्ता भएपनि अहिले बन्द अवस्थामा छन् ।
तर सञ्चालनमा रहेका उद्योगहरुले समेत पूर्ण रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को पालना नगरेको पाइएको छ।
केही क्रशर उद्योग गैर कानूनी रुपमा समेत सञ्चालनमा रहेको पाइएको छ। स्वयम क्रशर उद्योगीको भनाइमा कुनै पनि उद्योगले मापदण्ड पालना गर्न सकेका छैनन्।
क्रशर उद्योगी लक्ष्मण साउँदले मापदण्ड पुरा गर्दै दर्ता गराएका उद्योगहरु पनि नयाँ मापदण्डमा नपर्ने बताए । उनले भने ‛नयाँ मापदण्डमा कैलालीको एक पनि क्रशर उद्योगहरु छैनन होला । हाम्रो पनि छैन ।’ स्थानीय प्रशासनले गरेको जिल्लाका क्रशर उद्योगहरुको अनुगमनका क्रममा उनीहरूले मापदण्डको पालना नगरिएको पाइएको हो ।
अनुगमनको क्रममा जिल्लामा सञ्चालनमा रहेका क्रशर उद्योगहरुमा धुलो नियन्त्रणका लागि पानी छर्किने व्यवस्था, मानव बस्तीको दूरी, क्रशरमा शेड (छोप्ने)को व्यवस्था, वृक्षारोपण, धमिलो पानी फिल्टरको व्यवस्था र ध्वनी प्रदूषण नियन्त्रणको व्यवस्था अवलोकन गरिएको थियो । तर लगभग सबै उद्योगहरुमा मापदण्ड पूरा नगरिएको पाइएको हो ।
तर कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले केही उद्योगहरुमा केही माप्दण्ड नपुगेके बताए । उनले भने जिल्लामा दर्ता भएका ४ उद्योगहरुको अनुमगन गरेका छौ । तर विधिवत दर्ता गरिएका हुन । कर तिरेका छन । तोकिएके ठाउँमा नै सञ्चालन गरिएका छन । तर केही मापदण्ड भने पालना नगरिएको पाइएको छ’ उनले भने ।
कैलालीमा १२ क्रशर उद्योगहरु सञ्चालनका लागि दर्ता गरिएका छन् । तर ४ उद्योग सञ्चालनमा रहेकोमा सबै मापदण्ड विपरीत सञ्चालन हुँदै आएको पाइएको हो । मापदण्ड समेत पूरा नगरेका उद्योगहरुको कमी कमजोरी ढाकछोप गर्दै प्रतिवेदन तयार पारेको पाइएको छ। जिल्लामा सञ्चालनमा रहेका क्रशर उद्योगहरुमा एकले पनि मापदण्ड पूरा नगरेको बेला केही मापदण्ड पालना गरिएको प्रतिवेदनमा लेखिएको छ । जबकि जिल्लाका कुनै पनि क्रशर उद्योगले नयाँ मापदण्डको पालना गर्न नसकेको क्रशर उद्योगी साउँदले बताएका छन्।
स्थानीय प्रशासनले हेमकुन्ड क्रशर उद्योग, वेस्टन क्रशर उद्योग, श्रीपुर क्रशर उद्योग, कर्णाली क्रशर उद्योगको मात्र स्थलगत अनुगमन गरेको छ । अन्य दर्ता गरिएका उद्योगहरुको सञ्चालन नरहेको भन्दै अनुगमन समेत गरिएको छैन । ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ मा वन क्षेत्र, घना बस्तीबाट र शैक्षिक संस्था, धार्मिक स्थल, स्वास्थ्य संस्थाहरु २ किलोमिटरको दूरीमा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ । राजमार्ग, खोला तथा नदी किनार, ऐतिहासिक ताल, पक्की पुलबाट ५ सय मिटर, चुरे पहाडको फेदीबाट १५ सय मिटरको दूरीमा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाइने मापदण्डमा लेखिएको छ । तर त्यो कैलालीको हकमा कागजमा मात्र सीमित देखिएको छ।
घरेलु तथा साना उद्योग कार्यालय धनगढीका अनुसार कैलालीमा १२ वटा क्रशर उद्योग दर्ता भएका छन्। सो कार्यालयको तथ्यांक अनुसार जयगढी क्रशर उद्योग, कर्णाली क्रशर उद्योग, बडी मालिका क्रशर उद्योग, हेम कुण्ड स्टोन क्रशर उद्योग प्रालि, बालाजी रोडा उद्योग, श्रीपुर कंक्रिट उद्योग प्रालि, वेष्टर्न क्रशर इण्डस्ट्रिज प्रालि, कर्णाली कंक्रिट इण्डष्ट्रिज प्रालि, टप कंक्रिट इण्डष्ट्रिज प्रालि, बर्दगोरिया क्रशर उद्योग प्रलि, बेहडा बाबा बालुवा प्रशोधन उद्योग र शिव शक्ति बालुवा प्रशोधन केन्द्र रहेको छ।