सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना संक्रमित बोक्न एउटै एम्बुलेन्सको भर !

२०७७ मंसिर २७, ०२:११ जनक विष्ट

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितका लागि एउटा मात्रै एम्बुलेन्स रहेको हुँदा कोभिडका बिरामीलाई अस्पताल पुर्याउन कठिनाइ भएको पाइएको छ।

प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा एउटा मात्र एम्बुलेन्स हुँदा कोरोना संक्रमितलाई उपचारका लागि अस्पताल ल्याउन तथा अन्यत्र रेफर गर्दा समस्या हुने गरेको पाइएको हो। 

एम्बुलेन्स चालक संघ सुदूरपश्चिमको तथ्यांक अनुसार प्रदेशमा नेपाल रेडक्रस सोसाइटी, स्थानीय तह, सरकारी तथा निजी अस्पताललगायतका निकायबाट समेत गरि झण्डै २ सय एम्बुलेन्स सञ्चालनमा छन्। 

प्रदेशमा कोरोना संक्रमित बोक्न प्रयोग भएका एम्बुलेन्स के कति छन् भन्ने तथ्यांक कुनै निकाय सँग छैन्। 

तर सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका लागि एउटा मात्र एम्बुलेन्स हुँदा समस्या हुने गरेको छ। 

संक्रमितको अवस्था जटिल भए होम आइसोलेसनबाट ल्याउन र अस्पतालले समेत अन्यत्र रेफर गरेमा लैजान एम्बुलेन्स नपाउँदा पीडा खेप्नुपरेपनि व्यवस्थापन हुन सकेको छैन्। 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कोरोना संक्रमितका लागि एउटा मात्र एम्बुलेन्स हुँदा समस्या भएको बताए। 

उनले एउटै समयमा बढी संक्रमितलाई रेफर गर्न तथा ओर्सानु परेमा व्यवस्थापनमा हम्मेहम्मे पर्ने गरेको बताए। प्रदेशमा अहिलेसम्म कोरोना भाइरसका कारण ६२ जनाको ज्यान गइसकेको छ भने १२ हजार ५ सय बढी संक्रमित भएका छन्। 

कैलालीसहित प्रदेशका केही स्थानीय तहले संक्रमितका लागि एम्बुलेन्सको व्यवस्था गरेका भएतापनि आइसोलेसनसम्म पु¥याउन मात्र सीमित गरेपछि अस्पताललाई व्यवस्थापनमा समस्या भइरहेको हो। 

एउटै एम्बुलेन्सको मुख ताकेर बस्दा जटिल अवस्थाका संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसक्दा ज्यान गुमाउनुपर्ने बाध्यता समेत आइलागेको गुनासो गरिएको छ। 

तर एम्बुलेन्स चालकहरुले भने सम्बन्धित निकायले छुट्टाछुट्टै एम्बुलेन्सको व्यवस्था नगर्दा आफूहरुलाई पनि समस्या भइरहेको बताउने गरेका छन्। 

एम्बुलेन्स चालक संघ सुदूरपश्चिमका अध्यक्ष लक्ष्मणबहादुर सिंहले एउटै एम्बुलेन्सले संक्रमित र अरु बिरामी ओर्सान संक्रमणको जोखिम हुने भएकाले छुट्टाछुट्टै व्यवस्थापन गर्न आवश्यक रहेको जनाए।

छुट्टै एम्बुलेन्स नहुँदा चालकले जोखिमको भयले नै बोक्न नमान्ने गरेको उनी बताउँछन्। नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तमराज जोशी समेत संक्रमित बोक्न पर्याप्त एम्बुलेन्स नहुँदा संक्रमितले सास्ती खेप्नुपरेको कुरा यथार्थ भएको बताउँछन्। 

यो समस्याको निराकरण गर्न सम्बद्ध पक्षले मिलेर निकास दिनुपर्ने उनको भनाइ छ। प्रदेशको सामाजिक विकास मन्त्रालय भने एम्बुलेन्स व्यवस्थापनको जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई दिइएको जनाएको छ। 

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले व्यवस्थापकीय जिम्मेवारी प्रशासनको भएता पनि कुनै पनि एम्बुलेन्स चालकले संक्रमित बोक्दैनौँ भन्न नपाउने बताए। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस