सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको स्वरोजगार कोष परिचालनमा ढिलाइ, 'आफू निकट'का निर्देशक राख्न प्रक्रिया लब्याइएको आरोप

२०७७ मंसिर २६, ०१:२९ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम सरकारले प्रदेशवासीलाई उद्यमशील बनाउन खडा गरेको प्रदेश स्वरोजगार कोषमा प्रमुख कार्यकारी निर्देशक नियुक्त गर्न नसक्दा झण्डै डेढ अरब थन्किएको छ ।

सुदूरपश्चिम प्रदेशका झण्डै ८ लाख युवा रोजगारीको लागि विदेशमा रहेको बताइन्छ । तर सुदूरपश्चिम सरकारले ल्याएको प्रदेश स्वरोजगार कोष भने परिचालन गर्न ढिलाइ गरिएको छ ।

प्रदेशको जनसंख्या झण्डै २८ लाखमाथि रहेको र त्यसको ११ दशमलब ५ प्रतिशत बेरोजगारी दर रहेको प्रदेश सरकारकै तथ्याकंले देखाएको छ। देखाएको छ तर प्रदेश सरकारले भने कोष परिचालन गर्न कार्यकारी निर्देशक समेत छनौट गर्न सकेको छैन । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले कोषको कार्यकारी निर्देशकमा निकटका व्यक्ति भर्ना गर्ने चलखेल गर्दै नियुक्तीको प्रक्रिया लम्ब्याइएको आरोप लगाएका छन् । 

तर स्वरोजगार कोष परिचालन समितिका अध्यक्ष समेत रहेका आर्थिक मामिला तथा योजना झपट बोहाराले छिट्टै कोष सञ्चालनमा ल्याउने दाबी गरेका छन् । 

सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषको  कार्यकारी निर्देशक नियुक्तिको छनोट तथा सिफारिस सम्बन्धी कार्यबिधि २०७७ को दफा १० अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति रहने प्रावधान राखिएको छ।

कार्यकारी निर्देशकको छनोट र नियुक्ति कहिलेसम्म हुन्छ भन्ने जिज्ञासामा मन्त्रालयका निमित्त सचिव निर्मल ढकालले केही हप्ताभित्रै कार्यकारी निर्देशकको छनोट गरिसक्ने बताए। 

कानुन अनुसार प्रदेश स्वरोजगार विकास कोष सञ्चालक समितिको अध्यक्ष आर्थिक मामिला तथा योजना मन्त्री रहने व्यवस्था छ । 

नेपाली युवा विदेशबाट समेत बेरोजगार भएर स्वदेश फर्किएका छन् । तर सरकार कोष हेर्दै बसेको छ भनेर गुनासो गरिएको छ नि ? भन्ने जिज्ञासामा मन्त्री झपट बोहराले आउँदो एक महिनाभित्रै कोष परिचालन गरिने ठोकुवा गरे । 

कोभिड¬ १९ को कारण प्रदेशमा हजारौ नागरिक बेरोजगार बनेका छन । प्रदेश सरकारले  उद्यमशीलता बढाउन लक्षित वर्गका युवा, महिला, विपन्न, दलित लगागतका स्वरोजगार हुन चाहने नागरिकलाई वित्तीय सहयोग प्रदान गर्न स्वरोजगार कोषको अवधारण ल्याएको प्रदेश सरकारको दाबी छ ।

यसैबीच प्रदेश सरकारले कोभिड १९ का कारण प्रभावित भएका व्यवसायीहरुलाई सहयोग पु¥याउन पुनर्कर्जा सम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको जनाइएको छ ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस