कैलालीको गौरीगंगा नगरपालिकामा बेथिति बढेका विवरण, 'कानुन विपरीत लाखौँ रुपैयाँका सामान खरिद'
धनगढीः सार्वजनिक खरिद नियमावली २०६४ को दफा ८५ को उपदफा १ को (ख) मा एक आर्थिक वर्षमा एकै पटक वा पटक–पटक गरि एकै सीमा भन्दा बढिको वा एउटै फार्म, कम्पनी वा संस्थाबाट एक पटकभन्दा बढी सोझै खरिद गर्न नसकिने व्यवस्था छ।
तर कैलालीको गौरीगंगा नगरपालिकामा भने सार्वजनिक खरिद नियमावलीमा रहेको सो व्यवस्थाको बर्खिलाप हुने गरी एकै आर्थिक वर्षमा ५ पटकसम्म एउटै कम्पनी मार्फत सोझै सामान खरिद गरेको भेटिएको छ।
गौरीगंगा नगरपालिकाका उपमेयर अञ्चला चौधरीले सार्वजनिक खरिद ऐन विपरीत सामान खरिद गरेको भेटिएपछि छानबिन गरिएको बताइन्।
उनले त्यसरी खरिद गरिएको सामानको हकमा तत्काल भुक्तानी नदिन निर्देशन दिइएको जानकारी दिइन्।
नगरपालिकाले झण्डै ३७ लाख ४१ हजार बढिका विभिन्न सामाग्री ५ पटक भन्दा बढी एकै कम्पनी मार्फत खरिद गरेको हो।
गत असार २६ गते ट्रेड नेपाल धनगढीबाट २४ लाख ९० हजार रुपैयाँ बढीको स्वास्थ्य सामाग्री नगरपालिकाले खरिद गरेको देखिएको छ।
धनगढीकै विजय सप्लायर्सबाट ९ लाख ८८ हजार ७ सय रुपैयाँ, ड्रग सेन्टरबाट १२ लाख ५३ हजार ७ सय रुपैयाँ भुक्तानीका लागि पेस गरिएको छ।
एकै फार्मलाइ ५ लाख भन्दा बढिको स्वास्थ्य सामाग्री खरिदका लागि दिइएको हो। एकै कम्पनीमार्फत झण्डै २५ लाख रुपैयाँसम्मको सामान समेत खरिद गर्दै नगरपालिकाले सार्वजनिक खरिद ऐन र नियमावली मिचेको स्वयंम उपमेयर चौधरी बताउँछिन्।
नगरपालिकाले सार्वजनिक खरिद ऐन र नियमावलीलाई बेवास्ता गरेको भन्दै खर्चको भुक्तानी नदिन सुझाव दिइएको छ।
नगरसभामा पेस गरिएको प्रतिवेदन समेत लेखामा पठाइएको छ। लेखालाई ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार भुक्तानी दिन भनिएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले बताए।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रकामा वडा कार्यालयहरुले मनोमानी खर्च गरेको आरोप लागेको बेला नगरपालिकाले झनै खरिद र नियमावली मिचेको पाइएको हो।