लम्बाइ, चौडाइ घटाएपछि बल्लतल्ल धनगढीमा सडक शिलान्याश !
क्षेत्रीय सहरी विकासमा संकुचन
धनगढीः धनगढीमा संघीय सरकारको क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत निर्माण हुने सडक शिलान्यास गरिएपनि काम सुरु भएको हेर्न धनगढीवासीले अझै केही महिना पर्खिनुपर्ने भएको छ।
त्यसको कारण यो हो–कोरोना महामारी, नदीजन्य निर्माण सामाग्री अभाव र काम सुरु हुने मिति, जुन पुसपछिलाई तय गरिएको छ।
ढिलाइ हुनुको एउटा कारण यस्तो छ। आयोजना अन्र्तगत सुरुमा ४२ किलोमिटर लम्बाइका धनगढीका २३ वटा सडक निर्माण हुने भनिए पनि कार्यान्वयनमा लैजान नै ढिलाइ भएको भन्दै लम्बाइ र चौडाइ समेत घटाउँदै १० दशमलव २४४ किलोमिटरमा झारिए पनि अझै काम अगाडि नबढेको हो।
आयोजना कार्यान्वयन गरिरहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ र भरतपुरको कालिका कन्ट्रक्सनबीच १० किलोमिटर सडक निर्माणका लागि गत असारमा ६८ करोड ५ लाखमा ठेक्का सम्झौता भएको थियो।
तर अहिलेसम्म निर्माणको काम सुरु भएको छैन। कोरोना संक्रमणको जोखिमका कारण काम अघि बढाउन नसकिएको संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनीयर श्यामचन्द्र बुढाथोकी बताउँछन्।
संघीय सरकारकै सो आयोजना अन्तरगत निर्माण हुने शहीदगेट क्याम्पस गेट सडकको बिहीबार धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले शिलान्यास गरेका छन्।
३ दशमलव ६५ किलोमिटर लामो उक्त सडक २० मिटर लम्बाइको निर्माण हुने भनिए पनि अहिले घटाएर १६ मिटर मात्रै कायम गरिएको छ। तर अझै निर्माणको टुङ्गो छैन।
निर्माण व्यवसायीले भने स्थानीय तहहरुले निर्माण सामाग्री उत्खनन्को ठेक्का नलगाउँदा निर्माण सामाग्रीको अभाव भएको दाबी गरेको छ।
कालिका कन्सट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले बिहीबार सडकको शिलान्यास गर्दै कामको सुरुवात गरिएको बताए।
तर निर्माण सामग्री अभावका कारण समस्या भएकाले पुसपछि मात्र कामलाई गति दिन सकिने बताए।
‘खुटिया नदीबाट निर्माण सामग्री ल्याउनुपर्ने हुन्छ, त्यहाँको नदीजन्य वस्तु संकलनको ठेक्का नै नलगाउँदा हामीलाई समस्या भएको हो।’ उनले भने।
क्षेत्रीय सहरी विकास कार्यक्रम अन्तरगत छनोट भएका सडक क्षेत्रमा पर्ने भौतिक संरचना हटाउदै आयोजना कार्यान्वयनमा सहजीकरण गर्ने जिम्मा धनगढी उप–महानगरपालिकाले पाएको थियो।
तर उल्टै साँघुरो सडकलाई फराकिलो बनाउँदा आसपासका क्षेत्रमा निर्माण गरिएका भौतिक संरचना हटाउँदा क्षति हुने भन्दै सडकको लम्बाई र चौडाइ घटाउन भूमिका खेलेको आरोप लाग्ने गरेको छ।
२०७५ सालको कार्तिक ५ मा बसेको उप–महानगरपालिकाका जनप्रतिनिधिसहितको बैठकले यसअघि स्वीकृत सडकको लम्बाइ र चौडाइ घटाउने निर्णय गरेको थियो।
सोही बैठकमा सहभागी धनगढी उप–महानगरपालिकाका इन्जिनीयर दिजराज भट्टको भनाइमा समेत सडक फराकिलो बनाउँदा धेरै संरचना हटाउनुपर्ने भएकाले नै क्षेत्रफल घटाइएको हो।
भट्ट भन्छन्,‘यसअघि बनाइएको डिजाइन अनुसार सडक बनाउँदा धेरै संरचनाहरु भत्काउनुपर्ने भएकाले तत्काललाई चौडाइ घटाउने निर्णय गरिएको हो। तर मापदण्ड फेरिएको भने होइन्।’
आलोचकहरुले भने सडकको लम्बाइ चौडाइ घटाउने कदमलाई सीमित व्यक्तिको मुख हेरेर धनगढीको दीर्घकालीन विकास योजनामै कुठाराघात गरेको रुपमा व्याख्या गर्ने गरेका छन।
सोही निर्णयका कारण अहिले झण्डै ४ किलोमिटर लामो र ३० मिटर चौडा बन्ने धनगढीको मुख्य सडक १ किलोमिटर ३ सय ८० मिटर लामो र २४ मिटरको मात्र निर्माण हुने भएको छ भने अन्य ५ वटा सडकमा समेत लम्बाई र चौडाइ घटाइएको छ।