सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बालिका बलात्कारका आरोपी छुट्दै, पीडित भन्छन्, ‘न्याय माग्दा सास्ती मिल्यो’

२०७७ मंसिर २३, ०२:४९ नारायण अवस्थी

धनगढीः कैलालीको कैलारी गाउँपालिका वडा न. २ का २९ वर्षीय दिपेन्द्र चौधरी कुश्मी गत जेठ ३२ गते सोही ठाउँकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परे । मंसिर १६ गते जिल्ला अदालतले मुद्दाको सुनुवाइ गर्दै सफाइ दियो ।

गत जेठ १५ गते कैलालीकै गौरीगंगा नगरपालिका वडा न. ४ का बालाराम सुबेदी ७ वर्षीया बालिका बलात्कारको अभियोगमा पक्राउ परे । तर थुनछेक बहसपछि जिल्ला अदालत कैलालीले प्रतिवादी सुबेदीलाई जेठ २६ गते थुना मुक्त गर्ने आदेश दियो ।

यी २ प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय बलात्कारका घटनामा आरोपितहरु अदालतको फैसलाबाट छुट्न थालेपछि पीडितले झन पीडामा परेको गुनासो पोखेका छन् । भने महिला अधिकारकर्मीहरुले पहुँच भएका पीडकहरुका कारण न्याय प्रभावित भैरहेको दाबी गरेको छन् ।

अधिकारकर्मी गोमा आचार्यले पछिल्लो समय अदालतबाट भएको निर्णयले आफूहरुलाई चकित बनाएको बताउँछिन् । बलात्कार जस्तो जघन्य अपराधमा जिल्ला अदालतबाट पीडकले उन्मुक्ति पाउँदा तथा सरकारवादी मुद्दा हार्दा पीडितले पाउनु पर्ने अधिकार कुण्ठित भएको उनको भनाइ छ ।

तर जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुन्जेडाले जिल्ला अदालतको फैसला अन्तिम नभएकोले सरकारीको वकिलको कार्यालयमार्फत उच्च अदालतमा मुद्दा पुनरावेदन गर्न सकिने बताउँछन् ।

आरोपितले सफाइ पाएपछि कैलाली जिल्ला सरकारी वकिल कार्यालयले सो मुद्दा पुनरोवेदनको तयारीमा रहेको बताएको छ । सरकारवादी मुद्दा हारेको फैसला आएको अवस्थामा सरकारी वकिल कार्यालयबाट पुनरावेदन गर्ने बताउदै कैलाली जिल्ला न्यायाधिवक्ता राजेन्द्रसिंह भण्डारीले फैसलाको पूर्णपाठ आएपछि उच्च अदालतमा मुद्दाको पुुनरावेदनको तयारीमा लाग्ने जानकारी दिए ।

तर कैलालीको गौरीगंगा नगरपालिका वडा न. ४ का ७ वर्षीया बालिका बलात्कार मुद्दाका आरोपित ११ दिनमै जिल्ला अदालतबाट थुनामुक्त आदेश आएपछि पीडित परिवारले न्यायका बाटो बन्द भएको गुनासो पोखेका छन् । अदालतको फैसलाले पीडामाथि पीडा मात्रै दिएको पीडितको भनाइ छ ।

‘हाम्रो अन्तिम सहारा अदालतमाथि थियो । अदालतबाट न्याय पाएनौ, सास्ती पायौ । अब हामी को सँग न्याय माग्ने ?, पीडितले भने ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस