आठ महिनापछि टीकापुर पार्क खुल्यो
झलनाथ खनाल, भजनी : कोरोना भाइरसको सङ्क्रमणका कारण आठ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको टीकापुर पार्क खुल्ला गरिएको छ ।
आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकले पार्कको अवलोकन गर्दै आएको तथ्याङ्क नगरपालिकासँग छ । लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै आएपनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पार्क खुल्ला गरिएको बताइएको छ ।
नयाँ वर्ष र दशैँतिहारको समयमा पार्क अवलोकनमा आउनेको घुइँचो लाग्ने गरेको भए पनि यो वर्ष सो अवधिमा पार्क सुनसान रह्यो । नगरपालिकाको वार्षिक ५० लाख रुपैयाँ आम्दानी हुने पार्कबाट गत वर्ष २० लाख रुपैयाँ पनि आम्दानी हुन सकेन । झनै यस वर्ष त त्यति पनि आम्दानी हुने अवस्थामा नदेखिएको पार्कमा कार्यरत विनोद चौधरी बताउँछन् । नयाँ वर्ष र दशैँतिहारको समयमा मात्रै पार्कले २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको छ ।
अन्य वर्षजस्तै पार्कमा आउने पर्यटकलाई यस वर्ष पार्क बन्द रहेको जानकारी नभएकाले पार्क पुग्दै फर्कदै गरेँ । बन्दाबन्दी खुलेसँगै टीकापुर पार्कमा पर्यटकको आगमन सुरु भएपनि पार्कको मूल ढोका बन्द हुँदा त्यहीबाट पर्यटक फर्कने गरेका थिए । दाङ, सुर्खेत, नेपालगञ्ज, बर्दिया, कञ्चनपुरलगायतका क्षेत्रबाट अवलोकनका लागि आएका पर्यटक पार्क अवलोकन नगरी फर्किएको चौधरीले बताएका छन् ।
शनिबार बर्दियाबाट पार्क अवलोकनको लागि आएका शङ्कर चौधरीले पहिले पनि पार्क अवलोकनका लागि आएपनि धेरै पछि खुल्ला हुँदा अब पर्यटकको आगमन बढ्नेछ भने । “हामी पार्क खुल्ला छ भन्ने ठानेर यसअघि पनि आएका थियौँ”, चौधरीले भने, “पार्क बन्द छ भन्ने जानकारी नपाउँदा धेरै समस्या भोग्नु पर्यो । सबै क्षेत्र विस्तारै चलायमान हुँदै गएको अवस्थामा नगरपालिकाले वनभोजस्थल पनि सञ्चालनलमा ल्याउनुपर्छ ।”
स्वास्थ्यका सबै मापदण्ड पालना गर्न लगाई टीकापुर पार्क अवलोकनका लागि खुल्ला गरिएको कुरा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद शर्माले बताए । “पार्क मात्र खुला गरेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, “वनभोजजस्ता कार्यक्रममा भने रोक लगाएको छ तर सञ्चालनका लागि छलफल भइरहेको छ ।”
नगरपालिकाले अवलोकनकर्ताले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, सम्बन्धित स्थानमा राखिएको साबुनपानीले हात धुनु पर्ने, पार्कभित्र रहेका जुनसुकै बोटबिरुवा वा रेलिङमा छुन नपाइने जथाभावी फोहर गर्न नपाइने, फोहरलाई सम्बन्धित स्थलमा व्यवस्थापन गर्नुपर्ने, प्रति समूहमा बढीमा २५ जनाभन्दा बढीको सङ्ख्यामा प्रबेश गर्न नपाइने र एक अर्काबीच भौतिक दूरी कायम गर्नेजस्ता शर्त तोकिएका पार्कका कर्मचारी चौधरीले बताएका छन् ।
पार्क खुल्दा त्यस क्षेत्रका व्यवसायी पनि खुशी भएका छन् । पार्क छेउमा होटेल व्यवसाय गर्दै आएका अर्का रेष्टुराँका सञ्चालन रवीन्द्र विष्टले व्यवसाय पहिले नै सञ्चालन भए पनि पार्क बन्द हुँदा आफूहरूले व्यवसाय बन्द गरेजस्तै रहेको बताउनुभयो । “अब पार्क खुल्दा केही आशा देखिएको छ ।
यसअघि साउको र बैंकको ब्याजसमेत तिर्न सक्ने अवस्थामा थिएन”, विष्टले भने, “पहिले यो मौसममा दैनिक एक लाख रुपैयाँसम्मको व्यापार हुन्थ्यो । अहिले सुनसान छ तर पनि लामो समय पछि पार्क खुल्दा अब केही आश थपिएको छ ।” पार्कको अवलोकन समय विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ला गरिएको जनाइएको छ ।