महेन्द्रनगरमा दम्पतीले छापेको नक्कली नोट यसरी पुग्थ्यो बजारमा
धनगढीः कञ्चनपुर प्रहरीले पक्राउ गरेका दम्पतीले लागु औषध प्रयोगकर्ता मार्फत नक्कली नोट बजारमा पठाउने गरेको खुलेको छ।
महेन्द्रनगर बजारको गल्ली नम्बर २ बाट नक्कली नोट छाप्न प्रयोग हुने मेसिनसहित पक्राउ परेका अनुज शर्मा दम्पतीले लागु औषध प्रयोगकर्ता, बालबालिका, वृद्धवृद्धा मार्फत बजारमा नक्कली नोट पठाउने गरेको खुलेको प्रहरीले जनाएको छ।
‘प्रारम्भिक अनुसन्धानका क्रममा लागु औषध प्रयोगकर्ताबाट नक्कली नोटले लागु औषध खरिद गरी कारोबार गर्ने गरेको पाइएको छ,’ कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा भन्छन्, ‘उनीहरुले बालबालिका, वृद्धवृद्धा र भीडभाड हुने ठाउँमा नक्कली नोटको कारोबार गर्ने, सामान खरिद गर्ने गरेको देखिएको छ।’
शर्मा दम्पतीलाई नक्कली नोट छाप्ने धन्दामा लागेको धेरै समय नभएको समेत देखिएको पाइएको बताउँछ।
‘भारत घर भएका शर्माको आमाले महेन्द्रनगर बजारमा सिलाइकटाइ व्यवसाय गर्दै आएकी रहेछन्,’ प्रहरी नायब उपरीक्षक थापाले भने, ‘त्यो व्यवसाय छुटेपछि दैनिक खर्च टार्ने कुनै पेशा व्यवसाय नभएपछि उनीहरुले नक्कली नोट छाप्ने काममा लागेको देखिन्छ।’
लागु औषध प्रयोगकर्ता मार्फत शर्मा दम्पतीले ठूलो मात्रामा नक्कली नोट बजारमा पठाएको हुनसक्ने भएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।
नक्कली नोट सहित भीमदत्त नगरपालिका वडा नम्बर १८ बाट पक्राउ परेका दीपक नाथले दिएको सूचनाका आधारमा प्रहरीले शर्मा र उनकी श्रीमती रितिका बमलाई पक्राउ गरेको थियो।
पक्राउपछि प्रहरी टोलीले ती दम्पती बस्ने डेरामा खानतलासी गर्दा १ हजार दरका २ वटा नक्कली नोटसहित ल्यापटप १ थान, चार्जर १ थान, फोटोकपी मेसीन १ थान, कैची थान २ थान, किबोर्ड २ थान, माउस १ थान, विभिन्न बैंकहरुको चेकबुक ३ थान, एटिएम, आइएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपर बरामद गरेको थियो।
पक्राउ परेका तीनै जनामाथि अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्धामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ।
सम्बन्धित समाचार
कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना, प्रहरीले समात्यो एक दम्पती
कञ्चनपुरमा नक्कली नोटसहित एक जना पक्राउ