कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना, प्रहरीले समात्यो एक दम्पती
धनगढी: कञ्चनपुर प्रहरीले नक्कली नेपाली नोट बनाउने कारखानामा छापा हानेको छ।
भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजारको २ नम्बर गल्लीस्थित सानु धामीको पसलमा छापा मार्दा नक्कली नोट बनाउने रितिका बम र उनका श्रीमान अनुज शर्मालाई नक्कली नोटसहित पक्राउ गरेको हो।
पक्राउपछि प्रहरी टोलीले ती दम्पती बस्ने डेरामा खानतलासी गर्दा १ हजार दरका २ वटा नक्कली नोटसहित ल्यापटप १ थान, चार्जर १ थान, फोटोकपी मेसीन १ थान, कैची थान २ थान, किबोर्ड २ थान, माउस १ थान, विभिन्न बैंकहरुको चेकबुक ३ थान, एटिएम, आइएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपर बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई आइतबार नक्कली नोटसहित पक्राउ परेका युवकले दिएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्धामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।