धनगढीमा अवैध सामान बोकेको ट्रक ५१ हजार जरिवाना तिरेर छुटाइयो
धनगढीः धनगढीमा अवैध कवाडी सामान (सिसाका बोतल) बोक्न प्रयोग भएको ट्रक ५१ हजार रुपैयाँ जरिवाना तिरेर छुटाइएको छ।
युवा संघ कैलालीका युवाहरुले नियन्त्रणमा लिएर शनिबार जिल्ला प्रहरी कार्यालयलाई अवैध राजश्व छलीको अवैध सामानसहित बुझाएको ना ६ ख ३५८५ नम्बरको ट्रक धनगढी उप–महानगरपालिकालाई जरिवाना तिरेपछि छुटेको हो।
धनगढी उप–महानगरपालिकाको राजश्व शाखाका प्रमुख लेखनाथ ओझाले जिल्ला प्रहरी कार्यालयको सिफारिसमा नियमानुसार तिर्नुपर्ने शुल्क र २ सय प्रतिशत जरिवानासहितको ५१ हजार ६ सय ६० रुपैयाँ बुझाएर ट्रक छुटेको बताए।
सो ट्रकले ६ सय ५० मिलिलिटरका १२ हजार ६ सय खाली बोतल र ३ सय ३० मिललिटरका १५ हजार ४ सय बोतल राजश्व नतिरेर लगिरहेको खुलेकाले दस्तुर र जरिवाना गरिएको उनले बताए।
शनिबार राति मोहना पुल अत्तरिया ६ लेन सडक खण्डस्थित राजपुरमा युवा संघ कैलालीका युवाको समूहले ट्रक नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो।
ट्रकमा धनगढीकै गनीनाथ ट्रेर्डस एण्ड सप्लायर्सको कवाडी सामान थियो। सोही सप्लायर्सले जरिवाना तिरेको उप–महानगरपालिकाले जनाएको छ।
सम्बन्धित समाचार
धनगढीमा अवैध सामान बोकेको ट्रक नियन्त्रणमा, छुटाउन दौडधूप जारी