बैतडीको दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन
बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन हुने भएको छ ।
जिल्ला सदरमुकाममा रहेको नगरपालिकामा मंसिर १३ गतेदेखि २३ गतेसम्म १० दिनका लागि नगर क्षेत्र लकडाउन गर्ने निणर्य गरेको हो ।
नगरपालिकामा १८ जना कोरोना सक्रिय संक्रमित रहेका र कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि लकडाउन गर्ने निणर्य भएको सूचना अधिकारी टिकेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
नगरपालिकाले यातायात पूर्ण रुपमा बन्नद गरेको छ । तरकारी र फलफुल पसलहरुलाई बिहान ७ देखि ११ बजेसम्मका लागि मात्र सञ्चालनको अनुमति दिएको छ । नगरपालिका र वडा कार्यालयका काम समेत बन्द गरिने भएको छ । नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निणर्य गरेको भट्टले बताए ।
नगर क्षेत्रभित्र रहेका बैंक तथा बित्तीय संस्थाहरुले हप्तामा आइतबार, मंगलबार र बिहीबार मात्रै खुला हुनेन् । नगर क्षेत्रभित्र रहेका संघीय र प्रदेश सरकार मातहतका कार्यालय समेत बन्द गर्न अनुरोध गर्ने निणर्य गरेको छ ।