कैलालीमा विकास खर्च न्यून, सबैभन्दा कमजोर विकासे अड्डा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
धनगढी : कैलालीमा सबैभन्दा कमजोर विकासे अड्डामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन) देखिएको छ ।
जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना, योजना तथा परियोजनाहरु मध्ये सबैभन्दा कमजोर वित्तीय प्रगति ्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको देखिएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका प्रमुख लक्ष्मी जोशीका अनुसार चालु आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकको वित्तीय प्रगति अनुसार सो परियोजनाको प्रगति शुन्य देखिएको छ ।
कैलालीमा सञ्चालित १० आयोजना, योजना र परियोजना कार्यालयहरु मध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सबैभन्दा कम वित्तीय प्रगति देखिएको हो । सो परियोजनालाई चालु आर्थिक वर्षमा १ करोड ७० लाख बजेट अख्तियारी प्राप्त भएको छ । परियोजना कैलालीका प्रमुख कलशराम चौधरीले भने कार्यान्वयनको प्रक्रियामा रहेको बताए ।
त्यस्तै, २ अर्ब ७१ करोड ५ लाख बजेट अख्तियारी पाएको क्षेत्रीय आयोजना कार्यान्वयन इकाईको समेत वित्तीय प्रगति न्यून छ । इकाईको ०.०१ प्रतिशत मात्र वित्तीय प्रगति छ । आयोजनाले भर्खरै काम सुरु बताउँदै केही महिनामा वित्तीय प्रगति बृद्धि हुने इकाई प्रमुख महेशबहादुर सिंहको अपेक्षा छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीको तथ्यांक अनुसार कैलालीमा राष्ट्रिय गौरवका आयोजनाहरुको पहिलो चौमासिक वित्तीय प्रगति ९ प्रतिशत छ । जिल्लामा सञ्चालित १० राष्ट्रिय गौरवका आयोजनाहरुको ९ अर्ब २९ करोड ६ लाख वार्षिक बजेट रहेकोमा ८४ करोड ५३ लाख मात्र खर्च भएको हो ।
सबै भन्दा बढी वित्तीय प्रगति ४२ करोड बजेट अख्तियारी प्राप्त गरेको मोहनापुल–अत्तरिया सडक योजना कार्यालयको रहेको छ ।
रानी जमरा कुलरीया सिँचाइ आयोजनाको ११ दशमलव ७१, रानी जमरा सिँचाइ आयोजना कृषि तर्फ ८ प्रतिशत, संघीय खानेपानी तथा ढल व्यवस्थापनको २ प्रतिशत, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको १० प्रतिशत, हुलाकी सडक योजना कार्यालयको १३ प्रतिशत र सहजपुर–बोगटान सडकको २ प्रतिशत वित्तीय प्रगति रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीले जनाएको छ ।