बैतडीमा मृत फेला परेका गाई हत्याको आशंकामा एक जना पक्राउ
धनगढी: बैतडीमा मृत अवस्थामा फेला परेका गाई हत्याको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पुर्चौडी नगरपालिका-५ कुवाकोटका २४ वर्षीय लक्ष्मण पार्की रहेका छन् ।
पार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडी ल्याउन लागेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए ।
शुक्रबार जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ६ को सिगास सामुदायिक वन क्षेत्र अन्तरगतको भेरीखोला मुहानमा १४ वटा गाई मृत अवस्थामा भेटिएका थिए ।
स्थानीयले केही व्यक्तिले ‘गाई व्यवस्थापन गर्ने भन्दै रकम लिएर ती गाईलाई नियोजित रुपमा भीरबाट खसालेको’ आशंका गरेका थिए । पाटन नगरपालिकाबाट गाई व्यवस्थापनका लागि जिम्मा पाएकाहरुले नै टिप्परबाट गाई खोलामा खसालेको उनीहरुको आशंका थियो ।
पुर्चौडी नगरपालिकाको कुवाकोटका सुरेश पार्की र लक्ष्मण पार्कीले नगरपालिकासँग सम्झौता गरेर ३४ वटा गाई लिएका थिए ।
उनीहरुलाई सो नगरपालिकाले प्रति गाई २ हजार रुपैयाँ समेत दिएको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिएका थिए ।