सुदूर नेपाललाई विश्वसँग जोड्दै

मैतीदेवी मन्दिर परिसरमा आकर्षक बगैँचा बनाइने

२०७७ मंसिर ३, ०६:३५ रासस

काठमाडौँ : काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गरिने भएको छ ।

विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्पजस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षितरुपमा बस्न सकिने र अरु बेलामा पनि मानिसले पुनतार्जगीका लागि उपयोग गर्नसक्ने गरी बगैँचा बनाउन लागिएको हो ।

बगैँचा बनाउन काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरेको वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए । सहरी विकास तथा भवन निर्माण विभागले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै प्रबन्ध समिति महानगरपालिकालाई हस्तान्तरण गरेको पनि उनले बताए । 

मन्दिर क्षेत्रमा धोबीखोला मैतीदेवी छुट गुठीका नाममा पहिले करिब ३० रोपनी जग्गा भएपनि हाल दुई रोपनीमात्र बाँकी छ । बाँकी भएको जग्गालाई महानगरपालिकाले बगैँचा निर्माण गरेर संरक्षण गर्न लागेको पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले बेताए । बगैँचाको डिजाइन बनाउने काम भइरहेको उनले बताए ।

महानगरपालिकाको वडा नम्बर ९, २९ र ३० मा मन्दिरका नामको राजगुठीको जग्गा रहेको छ । वडा नम्बर ९ को जग्गा खाली छ । वडा नम्बर २९ र ३० को जग्गामा भने घर बनिसकेको गुठीका गुठियार नाइके सत्य मुनिकारले बताए । वडा नम्बर ९ खाली जग्गामा पनि मोहीका बीचमा मुद्दा चलिरहेको छ । 

मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्ने उद्देश्यले महानगरपालिकाले बगैँचा निर्माण प्रक्रिया सुरु गरेको हो । अरु जग्गालाई पनि मन्दिर मातहत ल्याउँदै जाने समितिको प्रतिबद्धता छ । मन्दिर परिसरमा पुरातत्व विभागले तामाको छाना राखेर सांस्कृतिक पाटी निर्माण गरिरहेको छ । पाटीसँगै पुजारी घर पनि निर्माण भइरहेको समितिले जनाएको छ ।

कमेन्ट लोड गर्नुस