सुदूर नेपाललाई विश्वसँग जोड्दै

बन्दाबन्दीमा चोयाका सामग्रीबाट ६० हजार आम्दानी

२०७७ मंसिर ३, १२:०० रासस

गण्डकी : बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा यहाँका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै ६० हजार आम्दानी गरेका छन् । 

पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामान तयार गरी त्यसको बिक्रीबाट ६० हजार रुपैयाँ आम्दानी गरेका हुन् । बन्दाबन्दीअघि विभिन्न ठाउँमा ज्याला मजदुरी गरेर परिवारको जीविकोपार्जन गरेका नेपालीले सो समयमा बाहिर हिँड्डुलसमेत गर्न नपाएपछि चोयाका सामान बनाएर त्यसैबाट आप्mनो दैनिक खर्च चलाएको अनुभव सुनाए । 

विसं २०७७ चैत महिनादेखि निर्मलपोखरी र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयबाट निगालो र निगाले बाँस खरिद गरेर चोया काटेर डोका ३४, थुन्से २४, झ्यारलुङ्गो १५ र धान राख्ने कोठा तथा मागअनुसारका विभिन्न अन्य सामग्री निर्माण गरी बिक्री गर्दै आएको उनले जनाए । “आन्द्रामा क्यान्सर रोगको कारण शरीर कमजोर छ, गाह्रो काम गर्न सक्दिनँ”, उनले भने, “हातको सीपसँगै केही हदसम्म भएपनि आम्दानी हुने हुँदा परिवारको पालनपोषण र आफ्नो उपचारमा समेत सहयोग पुगेको छ ।”

विहान सबेरैदेखि साँझसम्म चोयासँग खेल्नु दैनिकी बनाउँदै आएको बताउने नेपालीका अनुसार तयार गरिएका सामान बिक्री गर्न बजार जानु पर्दैन । सामान चाहिनेहरू घरमै आउने गरेको उनले बताए । चोया काढेर दुई दिनको अवधिमा तीनवटा डोका तयार गर्ने गरेको बताउँदै उनले मागअनुसार चोयाबाट निर्माण गरिने सम्पूर्ण सामग्री आफूले बुन्ने गरेको जानकारी दिए ।

नेपालीका अनुसार उत्पादित प्रतिडोका ५५० रुपैयाँ, विभिन्न आकारका थुन्से ४०० देखि ७००, झ्यारलुङ्गो (कुखुरा राख्ने) ७०० देखि ८००, धान राख्ने कोठाको दुई हजार र बच्चाको कोक्रो एक हजारका दरले बिक्री हुँदै आएको छ । बजारमा प्लाष्टिकका सामग्री पाउन थालेपछि चोयाका सामान लोप हुँदै गएको अनुभव सुनाउँदै उनले वातावरणीयसँगै स्थानीय सीप र कच्चा पदार्थ प्रयोग गरी निर्मित वस्तुको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

पछिल्लो समय निगालो र बाँस पनि पाउन कठिन बनेको छ । बन्दाबन्दीको क्रममा श्रीमान्लाई आन्द्रामा क्यान्सर रोग देखिएपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराउँदै आएको उनकी श्रीमती रत्नकुमारी नेपालीले दुखेसो गरिन् । “कमाउने श्रीमान्लाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा तीन लाखभन्दा बढी खर्च भइसकेको छ”, उनले भने, “मङ्सिर ४ गते चौथोपटक किमो चढाउने भनेको छ, यसअघि स्वास्थ्य बीमा र गाउँपालिकाको सिफारिसमा केही छुट भएर सुविधा पुगेपनि थप उपचारका लागि पैसा छैन, अब के गर्ने ?”

“श्रीमान् रोग र भोकसँंगै लड्दै घरमै चोयाका घरेलु सामग्री तयार गर्नुहुन्छ, मैले पोखराका आसपासका ग्रामीण क्षेत्रमा पुगेर तरकारी खरिद गरी बजार र घरबाटै बिक्री गर्दै आएकी छु”, रत्नकुमारीले भनिन्, “दुई छोराले र छोरीहरूले पनि सहयोग गर्दै आएका छन् ।”

कमेन्ट लोड गर्नुस