कैलालीको पहाडी क्षेत्रमा सुन्तला उत्पादनमा ह्रास
धनगढी : चालु आर्थिक वर्षमा कैलालीको पहाडी क्षेत्रमा सुन्तला उत्पादनमा ह्रास आएको छ ।
विगतका वर्षमा कार्तिक मसान्तसम्म धनगढीलगायत तराईका बजारमा चुरेको सुन्तला प्रसस्तै खरिद गर्न र खान पाइन्थो । चालु वर्षमा भने उत्पादनमा ह्रास आउँदा अझै बजार आउन नसकेको हो । बजारमा आउन अझै २ साता लाग्ने सुन्तला उत्पादक किसानहरुले बताएका छन् ।
चुरे गाउँपालिका वडा नं. १ निगालीका देवीराम सापकोटाले आफ्नो बारीमा ७ सय बोट सुन्तला रोपेको छन् । जसमध्ये झण्डै २ सय बोटमा सुन्तला फल्छ । गत वर्ष ९ लाखको सुन्तला बिक्री गरेका सापकोटा चालु वर्षमा भने असिना पानीको कारण सुन्तला नफल्न नसकेको सापकोटा बताउँछन् ।
सुन्तला उत्पादनमा ह्रास आएपछि चिन्तित बनेका सापकोटाले चालु वर्षमा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको मात्रै बारीमा सुन्तला भएको दुखेसो सुनाए ।
चुरे गाउँपालिका वडा नं. ४ खैरालाका किसानहरुको बारीमा पनि बिगतमा जस्तो सुन्तला फलेन । असिना पानीको कारण बोटमा राम्रो फल लाग्न नसक्दा यो वर्ष सुन्तला उत्पादनमा कम आएको खैरालाका स्थानीय किसान नारायणदत्त योगीले बताए ।
भएको सुुन्तला पनि विगतको जस्तो स्तरीय नभएको बताउँदै योगीले चालु वर्ष सोचे जस्तो आम्दानी नहुने भन्दै चिन्ता व्यक्त गरे ।