सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा १३ लाखको अवैध सामान बरामद

२०७७ कार्तिक २७, ०३:३६ रासस

विनोदसिह विष्ट, बैतडी : बैतडी प्रहरीले भारतबाट भित्र्याईएको १३ लाखको अवैध सामान बरामद गरेको जनाएको छ । 

बन्दाबन्दीको अवधि तथा सीमानाका बन्द रहेको अवस्थामा हालसम्म अवैधरूपमा भित्रिएको सामान बरामद गरिएको हो । सीमानाका बन्द रहेका बेला महाकाली नदीमा ट्युवको सहायतामा भन्सार छली गरी नेपाल भित्र्याईएको १३ लाखको सामान बरामद गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

उनले भने, “सीमानाका बन्द रहेको अवस्थामा प्रहरीले सीमा क्षेत्रमा एम्बुस र नियमित गस्तीका क्रममा उक्त परिमाणमा भारतीय सामान बरामद गरेका हौँ, गएको चैतयता हालसम्म तस्कर गरिरहेका अवस्थामा विभिन्न समयमा गरेर सातपटक प्रहरीले सामान बरामद गरेको छ ।”

बरामद गरिएको सामग्रीमा बढीजसो भारतीय बिँडी, चप्पल, कपडा रहेका जनाइएको छ । प्रहरीले सामानका साथै नौ जना र एक गाडीसमेत नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्ति, जीप र बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट र गड्डाचौकीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

नाका बन्द रहेका बेला तस्करी अझैपनि हुनसक्ने भन्दै प्रहरीले सीमा क्षेत्रमा प्रहरीको गस्ती बढाएको छ । भारतबाट अझै पनि अवैध सामान भित्रिरहेको भन्ने सूचना प्राप्त भइरहेकाले सीमा क्षेत्रमा गस्ती थपेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । उनले भने, “नाका बन्द रहेको बेला महाकालीमा ट्युवमार्फत बढीजसो सामान आउने गरेकाले उक्त क्षेत्रमा कडाइ गरेका छौँ ।”

कमेन्ट लोड गर्नुस