कहाँ छन्, १ महिनादेखि फरार कैलारीका वडा अध्यक्ष चौधरी ?
धनगढी: वन मुद्धामा पक्राउ आदेश भएपछि कैलालीको कैलारी गाउँपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चौधरी फरार छन् ।
डिभिजन वन कार्यालय कैलालीले वन अतिक्रमण तथा वन विनाश गरेको मुद्धामा पक्राउ पूर्जी जारी गरेपछि वडा अध्यक्ष चौधरी १ महिनादेखि फरार छन् । उनी विरुद्ध वन कार्यालयले असोज १९ गते नै पक्राउ पूर्जी जारी गरेको हो ।
तर हालसम्म नत उनी सम्बन्धित निकायको सम्पर्कमा आएका छन्, नत उनलाई पक्राउ गर्न सकिएको छ । उनी आफ्नै घरमा रहेपनि प्रशासनले उनलाई पक्राउ गर्नमा वेवास्ता गरिरहेको स्रोतको दाबी छ ।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कंडेल भन्छन्, ‘वन अतिक्रमण गरेपछि जिल्ला अदालत कैलालीबाट पक्राउ आदेश जारी भएको छ । अनुसन्धानको लागि मैले अधिकारी तोकेको छु । उहाँ फरार रहेकोले पक्राउ गर्न नसकिएको हो । अब भने कडाइका साथ हामी लाग्छौ ।’
वडा अध्यक्ष चौधरी विरुद्ध सार्वजनिक हित विरुद्धको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले सार्वजनिक हित विरुद्धको उजुरी परेपनि दर्ता नभएको बताए ।
वडा अध्यक्ष चौधरीका साँधियारले उजुरी हालेपनि सम्पर्कमा नआएपछि दर्ता हुन बाँकी रहेको प्रहरी उपरीक्षक विष्टको भनाइ छ ।
वडा अध्यक्ष चौधरीले जेसिबी मेसिन प्रयोग गरी करिब ०.४ हेक्टर वन क्षेत्र विनाश तथा अतिक्रमण गरेको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ ।
वडा अध्यक्ष चौधरी फरार भएपछि वडा कार्यालयको सेवा प्रवाह प्रभावित नहोस भनेर कार्यवाहक अध्यक्ष तोकिएको कैलारी गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले वडा सदस्य हरिप्रसाद चौधरीलाई कार्यवाहक अध्यक्ष तोकिएको जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले वडा अध्यक्षको टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिई वडा अध्यक्षमा निर्वाचित भएका थिए । पछि पुनः उनी नेपाली कांग्रेसमै फर्किएका थिए । उनको संरक्षणमा हाल कांग्रेस नेताहरु लागेको स्रोतको दाबी छ ।