दार्चुला प्रशासनले स्थानीय तहका नागरिकलाई सेवा दिने बार तोक्यो
दार्चुला: दार्चुला प्रशासनले स्थानीय तहका नागरिकलाई सेवा दिने बार तोकेको छ । कोरोना भाइरसको संक्रमण जोखिम रहेकोले प्रशासनले समयतालिका अनुसार सेवा प्रवाह गर्न थालेको हो ।
एक दिनमा ३ स्थानीय तहका सेवाग्राहीलाई मात्रै सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
उनका अनुसार आइतबार र सोमबार महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र ब्याँस गाउँपालिकाका सेवाग्राहीहरुलाई सेवा प्रवाह भइरहेको छ । मंगलबार र बुधबार शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका सेवाग्राहीहरुलाई मात्र सेवा प्रवाह भइरहेको छ ।
विहिबार र शुक्रबार मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिकाका सेवाग्राहीहरुलाई मात्र सेवा प्रवाह भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।