भटमास तेलको निर्यात बढ्यो
काठमाडौँ : भन्सार सुविधा पाएकाले नेपालबाट भटमास तेल भारत निर्यात हुने गरेको छ ।
गत वैशाखको अन्तिम साता भारतको वैदेशिक व्यापार निर्देशनालयले पाम आयल आयातकर्ताको लाइसेन्स खारेज गरेपछि नेपालबाट यसको निर्यात ठप्प छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको चालू आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांकअनुसार चालू आवको सुुरूदेखि नै प्रशोधित भटमासको तेल नेपालको पहिलो निर्यातयोग्य वस्तु बनेको हो ।
चालू आवको पहिलो ३ महीनामा भटमासको तेल निर्यात ४१४ प्रतिशतले बढेको छ । गत आवको पहिलो ३ महीनामा १ अर्ब ४७ करोड ९९ लाख रुपैयाँको भटमासको तेल निर्यात भएको थियो । तर, चालू आवको सोही अवधिमा बढेर ७ अर्ब ६० करोड ७३ लाखको भटमास तेल निर्यात भएको केन्द्रको तथ्यांक छ ।