आयल निगम धनगढीको अपरिपक्क निर्णयले ट्याङकर पार्किङ अझै अन्यौलमा
धनगढीः नेपाल आयल निगम धनगढीले मासिक २० हजार भाडा तिर्दै ट्याङकर पार्किङ स्थलका लागि जग्गा भाडामा लिएपनि हचुवाकोख भरमा निर्णय गरिएको भन्दै विरोध भएको छ ।
गत साउनदेखि नै निगमले जग्गाको भाडा तिरेर पार्किङ स्थल निर्माण गरी सडक क्षेत्रमा राखिएको ट्याङकर व्यवस्थापन गर्ने दावी गरेकै बेला स्थानीयको विरोधका कारण रोकिएको छ ।
स्थानीयले आफूहरुसँग कुनै सल्लाह नै नगरी आयल निगमले एकलौटी निर्णय गरेपछि सुरुदेखि असहमती जनाएपनि वेवास्ता गरेको आरोप लगाएका छन् ।
स्थानीय हरिबहादुर भाटले बस्तीको बिचमा पार्किङ्ग स्थल बनाउन लागेको थाहा पाउने बित्तिक्कै विरोध गरेको तर आयल निगमले जबरजस्ती निर्माण गरेको आरोप लगाए । तर आयल निगमले भने स्थानीयको विरोधका बाबजुत पनि पार्किङ स्थलको भाडा तिरिरहेको छ ।
त्यो स्थान बस्ती नजिकै भएका कारण ट्याङकर पार्किङ गर्दा जोखिम हुने बुझाई स्थानीयको छ । अर्का स्थानीय जगत बमले साघुरो सडक भएको बस्तीका बिचमा ट्याङकर राख्दा दुर्घटनाको जोखिम हुने बताए ।
केदार टोलमा जग्गा भाडामा लिएर निर्माण गरिएको पार्किङ स्थल सानो क्षेत्रफलमा रहेको कारण सयौँ गाडीका लागि पर्याप्त ठाउँ समेत नरहेको स्थानीयले बताएका छन् ।
गत साउन ४ गते नै टोलबासीले पार्किङ स्थल बनाउन नहुने भन्दै वडा कार्यालयमा सामूहिक निवेदन दिएको बताउदै टोल विकास समितिका अध्यक्ष अमृत रावलले भने आयल निगमले स्थानीयको गुनासोको वेवास्ता गरी बस्तीका बिचमा पार्किङ्ग स्थल बनाएकोले विरोध गर्नु परेको जनाए।
यता नेपाल आयल निगम धनगढीले पनि स्थानीयको विरोधका कारण ट्याङकर पार्किङ गर्न नसकिएको दावी गर्ने गरेको छ ।
तर आफैले गरेको अपरिपक्क निर्णयबारे विकल्प खोज्नुको सट्टा चार महिनादेखि सोही ठाउँमा जग्गाको भाडा किन तिरियो भन्ने जवाफ निगमसँग छैन् ।
‘पार्किङ्ग स्थलको निमार्ण पछि ट्याङ्कर सो ठाउँमा राख्न खोज्दा विरोध भएको हो । तर खाली ट्याङकर मात्र पार्किङ्ग गर्न दिन स्थानीयसँग अनुरोध गछौँ ।’ नेपाल आयल निगम धनगढीका प्रमुख जितरन्जन दासले भने ।
तर वषौँदेखि सडक क्षेत्रमै पार्किङ गरिएका ट्याङकरको व्यवस्थापन नगरिदा दुर्घटनाको जोखिम बढेको छ भने असुरक्षा पनि बढेको गुनासो नगरबासीको छ ।