जब नक्कली भनिएको हजारको नोट प्रहरीको अनुसन्धानबाट सक्कली भएको खुल्यो..
प्रताप ओली, बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–०९ चिउरी खान (चौड) बजारमा २ जना अपरिचित व्यक्तिले पसलमा ६ सय ५५ रुपैंयाँको चाउचाउ, चिनी लगायतका सामान किने ।
उनीहरुले पसलेलाई सामान वापतको रकम तिरे । पसलेलाई उनीहरुले हजारको नोट दिए । सो नोटमा २ वटा हात्ती देखेपछि पसलले नक्कली नोट भन्दै प्रहरीलाई बोलाए । प्रहरीले तत्कालै उनीहरु दुवैजनालाई नियन्त्रणमा लियो । र प्रहरीले अनुसन्धान थाल्यो ।
जब प्रहरीले अनुसन्धानका क्रममा राष्ट्रिय वाणिज्य बैंकलाई जानकारी गरायो । त्यसपछि मात्र थाहा भयो की त्यो नोट नक्कली नभएर हालै जारी भएको नयाँ नोट थियो ।
बझाङ प्रहरीलाई झुक्किएकोमा पछुतो भयो । वाणिज्य बैँकले नै नोट सक्कली भनेपछि पक्राउ परेका दुवै जनालाई केहीबेरमै छोड्यो ।
बझाङमा सरकारले चलनचल्तीमा ल्याएको नयाँ नोटबारे जानकारी नहुँदा आम सर्वसाधारण मात्रै होइन प्रहरी समेत झुक्किएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ । नेपाल राष्ट्र बैंकले २६ अर्ब बराबर एक हजारको नयाँ नोट २०७७ साउन ७ गतेदेखि बजारमा प्रचलनमा ल्याएको थियो ।
यसअघि एक मात्र हात्ती हुने नोटमा अहिले जुम्ल्याहा हात्ती राखिएको छ । तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपालकै पालामा यो नोट छपाइ भएकाले नयाँ नोटमा पनि उनकै हस्ताक्षर छ ।
राष्ट्र बैंकका अनुसार हात्तीको चित्र भने वन तथा वातावरण मन्त्रालय मातहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपलब्ध गराएको हो ।
देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको नाम ‘राम’ र ‘लक्ष्मण’ हो । उनीहरु अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जान प्रयोग गरिन्छन् ।
प्रायः हात्तीबाट जुम्ल्याहा बच्चा जन्मिनु दुर्लभ मानिन्छ । तिनै दुर्लभ हात्तीको फोटो हजारका नोटमा राखिएका छन् ।