सुदूर नेपाललाई विश्वसँग जोड्दै

३ वर्षसम्म बनेन बझाङमा स्थानीय तहका भवन, मासिक ३० हजार बढी भाडा तिर्दै

२०७७ कार्तिक १८, ०८:५२ खबर संवाददाता

प्रताप ओली, बझाङ - बझाङका १२ वटा स्थानीय तहमध्ये ३ स्थानीय तहले मात्रै कार्यालय भवन निर्माण गरेका छन् ।  स्थानीय तह निर्माण भएको ३ वर्ष पुग्नै लाग्दा पनि जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका र तल्कोट गाउँपालिका रहेका छन् । 

भवन निर्माण गरेकै स्थानीय तहलाई पनि अझैं भवनको पर्याप्तता नभएको देखिन्छ । ३  वर्षसम्म पनि भवन निर्माण नगर्दा बझाङका ९ स्थानीय तहको लाखौंको रकम भाडा तिर्नमै जाने गरेको छ ।

केदारस्युँ गाउँपालिका यसअघि भाडामा बसिरहेकोमा अहिले साविकको रायल गाविस भवनमा भाडा नतिरेर बसिरहेको छ । केदारस्युँ गाउँपालिकाले देउराको बेताल मन्दिर नजिक जमिन खरिद गरिसकेको छ भने भवन निर्माण हुन बाँकी रहेको गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले बताइन् । 

यस्तै थलारा गाउँपालिका खोलीमा एक घर भाडामा लिएर बसिरहेको छ । उसले मासिक २० हजार भाडा तिर्दै आएको छ । थलाराले पनि गाउँपालिका कार्यालय निर्माणका लागि वडा नम्बर ५ को सेडीधारमा जमिन खरिद गरेर टेण्डर प्रक्रिया सुरु गर्न थालेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय जनाए ।

उता वित्थडचिर गाउँपालिका हाल मासिक ५४ हजार मासिक भाडा तिरेर देउलेखस्थित एक भवन भाडामा लिएर काम चलाइरहेको छ । उसले पनि सोही भवन पछाडी जमिन खरिद गरि भवनको जग निर्माण गरिरहेको गाउँपालिका प्रवक्ता हर्क धामीले बताए ।

हाल मासिक ३० हजार भाडा तिर्दै आएको खप्तडछान्ना गाउँपालिकाले पनि पसल बगरको इलाका प्रहरी कार्यालय नजिक २ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्यसहित भवन निर्माण गरिरहेको जनाएको छ । 

यस्तै दुर्गाथली गाउँपालिका पनि साविकको चौधारी गाबिस भवनमा बसिरहेको छ तर दुर्गाथलीले मासिक ३० भाडाका लागि छट्याउने गरेको दुर्गाथली गाउँपालिका ७ का वडाध्यक्ष ऐन दौल्यालले बताए । 

साइपाल गाउँपालिकाले पनि मासिक ३० हजार भाडा तिर्दै आएको छ । उसले गाउँपालिका भवन निर्माणका लागि टेण्डर भएर काँडास्थित घाटमा निर्माण सुरुवात गरेको जनाएको छ । यता मष्टा गाउँपालिका हाल भातेखोला गाबिस भवनमा बसिरहेको मष्टा गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष राजेन्द्र खड्काले बताए । 

भाडा तिर्नु नपरे पनि मष्टालाई पनि अर्को भवनको आवश्यकता छ । त्यस्तै बुंगल नगरपालिकाले पनि ७० हजार मासिक घरभाडा तिरिरहेको छ । नयाँ भवनका लागि डिपिआर सम्पन्न भइसकेको र तिहारपछि टेन्डर प्रक्रियामा जाने नगरपालिकाले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस