सुदूर नेपाललाई विश्वसँग जोड्दै

मृतक प्रहरीका परिवारले के–के सुविधा पाउँछन् ? यस्तो छ व्यवस्था

२०७७ कार्तिक ६, ०१:५९ लखन चौधरी

धनगढी: धनगढीमा योजनावद्ध रुपमा असई र प्रहरी जवानको धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि जनस्तरबाट प्रहरी संगठनको कार्यसम्पादनमाथि टिकाटिप्पणी भैरहेको छ ।

संगै आफन्त र जनस्तरबाट दोषिलाई हदैसम्मको कानूनी कारवाही र मृतक परिवारजनको शिक्षादीक्षादेखि लिएर लालनपालनको जिम्मा राज्यले लिनुपर्ने माग गर्दै आएका छन् । मृतकका अफन्तले धनगढी चौराहा र जिल्ला प्रहरी प्रहरी कार्यालय अगाडी प्रदर्शन समेत गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले मृतकका आफन्तजनले प्रहरी नियमावलीमा भएको व्यवस्था अनुसारको सबै सुविधा पाउने बताए ।

प्रहरी नियमावली २०७१ अनुसार कुनै प्रहरी कर्मचारीको सेवामा छँदै वा निवृत्तिभरण पाउन थालेको ७ वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवारलाई वा निजको नाबालक भाई वा अविवाहिता दिदी बहिनीलाई नियम १३० वा १३१ मा लेखिए बमोजिम उपदान वा निवृत्तिभरण प्राप्त हुनेछ ।

सो नियमावलीको नियम १३० को उपनियम १ अनुसार ५ वर्ष भन्दा वढी १० वर्षसम्म नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब, १० वर्ष भन्दा वढी १५ वर्षसम्म नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब पाइने व्यवस्था छ । साथै १५ वर्षभन्दा वढी २० वर्ष भन्दा कम नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब पाउने छन् ।

प्रहरी कर्मचारीको विधुर पति वा विधवा पत्नीले निजको पति वा पत्नी सेवामा छँदै वा निवृत्तिभरण पाउन थालेको ७ वर्ष नपुग्दै मृत्यु भएमा पारिवारिक निवृत्तिभरण पाउने भएमा सो निवृत्तिभरण पाउने अवधि भुक्तान भएको मितिदेखि र त्यस्तो निवृत्तिभरण नपाउने भएमा वा निजको पति वा पत्नीले निवृत्तिभरण पाउन थालेको ७ वर्ष व्यतित भईसकेपछि मृत्यु भएकोमा निजको मृत्यु भएको मितिदेखि जीवनभर निजले पाउने निवृत्तिभरणको आधा रकम पाउनेछ ।

कुनै प्रहरी कर्मचारीको यस नियामावली बमोजिम पाउने कुनै रकम लिन नपाउँदै मृत्यु भएमा सो रकम निजको परिवारको सदस्यहरुमध्ये यस नियमावली बमोजिम निजको निवृत्तिभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले लिन पाउनेछ ।
निवृत्तिभरण वा उपदान दिँदा मृतक प्रहरी कर्मचारीले आफ्नो परिवारका सदस्य मध्येमा वा नाबालक भाइ वा अविवाहिता दिदी वहिनीलाई इच्छाएको नभए सो रकम निजको परिवारको सदस्य मध्ये नेपाल सरकारले उचित ठह¥याएको व्यक्तिलाई दिईनेछ ।

कुनै प्रहरी कर्मचारी आफ्नो कर्तव्य पालन गर्दा वा तालीम लिँदा कुनै चोटपटक लागी तत्कालै मृत्यु भएमा वा त्यसैको कारणबाट निको नहुँदै मृत्यु भएमा निजको नोकरी जतिसुकै वर्ष पुगेको भए तापनि मृतक प्रहरी कर्मचारीको परिवारको सदस्य मध्ये नियम १३३ को उपनियम (५) बमोजिमको व्यक्तिलाई त्यस्तो प्रहरी कर्मचारीले खाइपाई आएको तलबको आधा पारिवारिक निवृत्तिभरण र देहाय बमोजिम असाधारण पारिवारिक उपदान समेत दिइनेछ । जुन यस्तो छ :–
(क) १० वर्षसम्मको सेवा अवधि नपुग्दै मृत्यु भएमा निजले खाइपाई आएको ६ महिनाको तलब बराबरको रकम पाउने छ ।
(ख) १० वर्षदेखि २० वर्षसम्मको सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाई आएको ९ं महिनाको तलब बराबरको रकम पाउने छ ।
(ग) २० वर्षभन्दा बढी जतिसुकै सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाई आएको एक वर्षको तलब बराबरको रकम पाउने छ ।

त्यस्तै कुनै प्रहरी कर्मचारी हतियारधारी समूहको कारबाही वा अन्य कुनै प्रकारको सशस्त्र मुठभेड वा आक्रमण वा बिस्फोटन वा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा खटिएका बखत वा प्रचलित कानून बमोजिम खटिएको अवस्थामा भीर, पहरा, खोलानालामा लडी वा कुनै पनि प्रकारको हतियारको चोटबाट वा कुनै आकस्मिक दुर्घटनामा परी तत्कालै वा सोही कारणले निको नभई मृत्यु भएमा मृतक प्रहरी कर्मचारीलाई मरणोपरान्त एक तहमाथिको पदमा पदोन्नति दिई सोही पद अनुसारको पुरा तलब निजको परिवारले त्यस्तो प्रहरी कर्मचारीको उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढीमा ७ वर्षसम्म पाउनेछ ।

उक्त पुरा तलब पाउने अवधि व्यतित भएपछि मृतक प्रहरी कर्मचारीको सेवा अवघि निवृत्तिभरण पाक्ने अवधि भन्दा कम भएमा निवृत्तिभरण पाकेको अवधिसरह र निवृत्तिभरण पाक्ने अवधि भन्दा बढी सेवा अवधि भएमा सोही बमोजिम मृतक प्रहरी कर्मचारीको परिवारले निवृत्तिभरण पाउनेछ ।

त्यस्तै, असाधारण पारिवारिक निवृत्तिभरण मृतक प्रहरी कर्मचारीको पति वा पत्नी, बाबु, आमा भए आजिवन र छोरा वा विवाह नगरेकी छोरी भए २१ वर्षको उमेर पुरा नगरेसम्म वा सरकारी सेवामा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म पाउनेछ ।

त्यस्तै सो नियमावलीमा सन्ततिवृत्ति र शैक्षिक वृत्तिको पनि व्यवस्था गरिएको छ । कुनै प्रहरी कर्मचारी नियम १३४ बमोजिमको अवस्था परी आजीवन काम गर्न नसक्ने गरी अशक्त भएमा त्यस्तो अशक्त प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई मासिक सन्ततिवृत्ति दिइने सो नियमावलीमा उल्लेख छ ।

निवृतिभरण वा उपदान संगै सरकारले तोकिएको वीमा रकम पनि मृतकका परिवारजनले पाउने व्यवस्था छ ।

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस