सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरालाई चीनको कुनमिङबाट स्वास्थ्य सामग्री सहयोग

२०७७ कार्तिक २, ०८:५५ रासस

पोखरा महानगरपालिकालाई चीनको भगिनी शहर कुनमिङले स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपाल चीन जनमैत्री सङ्घ पोखराका अध्यक्ष विश्वशङ्कर पलिखेले उक्त सामग्री पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त रुपमा हस्तान्तरण गरे। 

कुनमिङले २० हजार थान सर्जिकल मास्क, दुई हजार थान केएन ९५ मास्क, सात सय ५० थान पिपिई  र चार सय थान थर्ममिटर सहयोग गरेको छ। पोखरा महानगरका प्रमुख  जिसीले कोभिड –१९ को महामारीमा भगिनी सम्बन्ध रहेको शहरबाट प्राप्त सहयोग निकै महत्वपूर्ण हुने बताए।

कुनमिङले गत जेठमा पनि पोखरा महानगरलाई स्वास्थ्य सामग्री सहयोग पठाएको थियो।  कुनमिङले रु ३१ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको पोखरा महानगरपालिका, वैदेशिक समन्वय सहजकर्ता लक्ष्मण तिमिल्सिनाले बताए।

भगिनी सम्बन्ध जोडिएका चीनका लिञ्जी र  ग्वाङ्झाओबाट समेत गत जेठमा एक करोड बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको थियो। कुनमिङसंँग सन् २००१ मा पोखरा महानगरले भगिनी सम्बन्ध स्थापना गरेको थियो। हालसम्म महानगरले १३  देशसँग मितेरी सम्बन्ध स्थापना गरेको छ।
 

कमेन्ट लोड गर्नुस