सुदूरपश्चिमका २ गम्भीर संक्रमित खतरामुक्त, एक जना डिस्चार्ज
धनगढीः सुदूरपश्चिमका ३ जना कोरोना संक्रमित खतरामुक्त भएका छन् ।
सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोभिड अस्थायी अस्पतालको आइसियुमा उपचाररत ३ जना खतरामुक्त भएका हुन् । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले सघन उपचार कक्ष आइसियुमा उपचाररत धनगढीका २ जनालाई जरनल वार्डमा सारिएको जानकारी दिए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का ५० वर्षीय पुरुष र धनगढी ३ की ६३ वर्षीया महिलालाइ आइसियुबाट जरनल वार्डमा सारिएको श्रेष्ठले बताए । यस्तै आइसियुमै उपचाररत कञ्चनपुरको पुर्नवासका ३८ वर्षीय पुरुष भने डिस्चार्ज भएका छन् ।
ती पुरुष पूर्ण रुपमा खतरामुक्त भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना भएका ४३ संक्रमित मध्ये ९ जनाको आइसियु र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
एक जना डिस्चार्ज र २ जनालाई जरनल वार्डमा सारिएपछि भेन्टिलेटरमा ३ र आइसियुमा ६ जना उपचाररत रहेका अस्पतालले जनाएको छ ।
सेतीमा कोरोना संक्रमितका लागि पाँच वटा भेन्टिलेटर सहित १० शैयाको आइसियु सेवा उपलब्ध छ । प्रदेशका अन्य कुनै पनि जिल्लामा तत्काल संक्रमितको उपचारका लागि आइसियु र भेन्टिलेटर सेवा छैन् ।