सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कोरोनाको संक्रमण तिव्र, रोकथामका प्रयास फितलो हुँदा जोखिम

२०७७ असोज २३, ११:०३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमै सबैभन्दा धेरै कोरोना संक्रमित रहेको कैलालीमा सम्बद्ध निकायहरुले आवश्यक पूर्व तयारी नगर्दा जोखिम झन बढेको छ।

चैतमा संक्रमण देखिएको प्रदेशको अस्थायी राजधानी धनगढी सहितका केही स्थानीय तहमा दैनिक संक्रमण समेत तिव्र रुपमा फैलिरहेका बेला संस्थागत आईसोलेसन तथा अस्पतालहरुमा आईसियु भेन्टिलेटर लगायतका उपकरण थप्ने काम भएको छैन्।

८५ शैयाको संस्थागत आईसोलेसन स्थापना गरिएकोमा बीहिबार सम्म ३५ जना संक्रमित भर्ना भएको धनगढी उप–महानगरपालिकाले जनाएको छ। जसमा अधिकांश संक्रमित लक्षण भएका रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए। उनका अनुसार होम आईसोलेसनमा बसिरहेका अधिकांश संक्रमितमा समेत लक्षण देखिने क्रम बढेको छ।

‘होम आईसोलेसनमा बसिरहेका संक्रमितहरुले पनि लक्षण देखिन थालेको भनेर फोन गर्न क्रम बढेको छ। संक्रमणको जोखिम बढेको छ।’उनले भने,‘चाडपर्व नजिकिएकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउनुपर्ने देखिन्छ।’

धनगढीमा बीहिबार थप १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या साढे आठ सय नाघेको छ। विगतमा भारत तथा प्रभावित क्षेत्रबाट फर्किएकाहरुमा संक्रमण देखिने गरेकोमा पछिल्लो समय यात्रा विवरण नभएका व्यक्ति बढिरहेका छन्।

दैनिक औसतमा १२ देखि ३० जना सम्म संक्रमित भेटिरहेको भएपनि उनीहरुलाई छुट्टै राखेर उपचारको प्रबन्ध मिलाउन पूर्व तयारी नहुँदा कतिपय व्यक्तिहरु लक्षण भएर समेत होम आईसोलेसनमै बसिरहेका छन्। त्यसले अन्यलाई समेत संक्रमणको जोखिम बढेको छ।

तर धनगढी उप–महानगरपालिकाले कनरीमा निर्माण गरिएको आईसोलेसनमा दुई शैया सम्म विस्तार गर्न सकिने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए। आईसोलेसनको शैया थप्न आवश्यक तयारी थालिएको उनले बताए। धनगढीपछि कैलालीमा सबैभन्दा बढि गोदावरी नगरपालिकामा संक्रमण तिव्र रुपमा फैलिरहेको छ।

तर संक्रमितहरुलाई छुट्टै व्यवस्थापन गर्न आवश्यक पर्ने आईसोलेसन निर्माणमा गोदावरी नगरपालिकाले समेत उदासिनता देखाएको छ। मालाखेती अस्पतालमा २० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको नगरपालिकाले विद्यालय सञ्चालन भएका कारण समस्या भएको दावी गर्दै आएको छ।

तर संक्रमित बढ्दै गए सामुदायिक अस्पतालमा समेत शैया विस्तार गरिने नगरपालिकाले जनाएको छ। गोदावरी नगरपालिकाका प्रवक्ता शर्मांनन्द भट्टले लक्षण भएका संक्रमित बढेमा सामुदायिक अस्पतालमा पनि आईसोलेसन स्थापना गरिने बताए।

यसअघि आईसोलेसन सेन्टर बनाएका विद्यालय सञ्चालन भएपछि समस्या भएको भट्ट बताउँछन्। स्थानीय तहहरुलाई स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरण सहित पाँच शैयाको छुट्टै आईसोलेसन कक्ष स्थापना गर्न समेत निर्देशन दिईएको स्वास्थ्य कार्यालयले जनाएको छ।

संक्रमण तिव्र रुपमा फैलिएमा पाँच शैयाको आईसोलेसन कक्ष निकै कम क्षमताको भएकाले समस्या आउनसक्ने चिकित्सकहरुको भनाई छ। त्यसका लागि अहिलेदेखि नै आईसोलेसन विस्तार, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य उपकरण थप्नतर्फ ध्यान दिन सुझाव दिईएको छ।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले पालिका स्तरमा अनिवार्य स्वास्थ्यकर्मी सहितको आईसोलेसन बनाउन आग्रह गरिएको बताए। तर नजिकिदै गरेको दशैँतिहारमा शहरदेखि गाउँ फर्किनेहरुका कारण संक्रमण बढ्ने भएकाले थप सचेत बन्दै सोही अनुसारका रोकथामका प्रयास गर्न आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस