सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा प्रहरी प्रशासनको दशैँतिहार विशेष सुरक्षा योजना लागु

२०७७ असोज २२, ०२:२२ जनक विष्ट

धनगढीः कोरोना भाईरसको संक्रमणको दर बृद्धि भईरहेका बेला हिन्दु नेपालीहरुको महान चाड दशैँतिहार समेत नजिकिदै गएका छन्। दशैँमा ठुलाबडाबाट टीका थाप्दै आर्शिवाद लिने प्रचलन अनुसार काम विशेषले बाहिर रहेकाहरु समेत घर फर्किने गरेका छन्। तर यसवर्ष भने विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण गत विगतका वर्षझै दशैँ तिहार मनाउन सकिने अवस्था छैन्।

सुदूरपश्चिममा स्थानीय प्रशासनहरुले चाडपर्वका बेला आवातजावत बढेर संक्रमण थप फैलिने भएकाले विशेष सुरक्षा योजनाका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको पालनमा कडिकडाई गरिने जनाएका छन्। प्रदेशको राजधानी समेत रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दशैँतिहारलाई घरभित्र मात्र सिमित गर्न आग्रह गरिएको बताए।

संक्रमणको दर कम नभएको र जोखिम कायमै रहेकाले विशेष सर्तकता अपनाउँदै दशैँतिहार मनाउन जिल्लाबासीमा अनुरोध समेत गरे। झण्डै ६ महिनादेखि जारी लकडाउन र निषेधाज्ञापछि सरकारले सार्वजनिक सवारी साधन समेत सञ्चालन गरेको छ। सार्वजनिक सवारी साधनमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालन नहुँदा जोखिम बढ्दै गएको छ।

सरकारले ५० प्रतिशत यात्रु राख्दै अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्न जारी गरेको निर्देशनको समेत अवज्ञा गरिएको आरोप लागेको छ। दशैँ तिहारका बेला सार्वजनिक सवारीमा थप लापरवाही बढ्न सक्ने भएकाले संक्रमण समेत तिव्र हुने  आशंका गरिएको छ। तर प्रदेशमा दशैँ तिहारमा हुनसक्ने सम्भावित घटना र स्वास्थ्य लापरवाहीलाई लक्षित गर्दै विशेष सुरक्षा योजना बनाईएको ट्राफिक प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तिरयाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक वामदेव गौतमले दशैँतिहार लक्षित गर्दै सवारीसाधनमाथि निगरानी बढाईएको बताए। उनले सरकारले दिएको निर्देशनको अवज्ञा गर्दै जथाभावी रुपमा सवारी साधन चलाउन, तिव्र गतिमा गाडी हाक्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याईने बताए।  

कतिपयले दशैँतिहारका बेला संक्रमण फैलिन सक्ने कुरालाई ध्यानमा राखेर स्थानीय प्रशासनले कडा खालको निषेधाज्ञा लाग्नु गर्न सक्ने अनुमान समेत गरेका छन्। प्रदेशमा कैलाली सहितका जिल्लामा जारी गरिएको निषेधाज्ञा खुकुलो बनाईएको भएपनि पूर्ण रुपमा हटाईएको भने छैन्। तर तत्काल भने निषेधाज्ञामा कडाई गर्ने/नगर्ने भन्ने विषयमा छलफल नभएको बताईएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अहिले समेत निषेधाज्ञा जारी रहेकाले त्यसको पालन गर्नुपर्ने बताए। तर निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने÷नगर्ने भन्ने विषयमा छलफल भने नभएको उनको भनाई छ।

यता प्रहरीले समेत दशैँ तिहारका बेला हुनसक्ने सम्भावित घटना तथा कोरोना महामारीलाई ध्यानमा राखेर एकिकृत सुरक्षा योजना तयार पारिएको जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले चाडपर्व लक्षित एकिकृत सुरक्षा योजना तय गर्दै सोही अनुसार ९ वटै जिल्लामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।

उनले खासगरी कोरोनाका कारण सिर्जित आर्थिक संकटका कारण हुनसक्ने आर्थिक अपराधका घटना र संक्रमणको जोखिमलाई लक्षित गरी सुरक्षा योजनामा बनाईएको बताए। जसमा प्रदेशभर चार हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिनेछन्।  

सरकारले समेत कोरोनाको संक्रमण बढिरहेकाले दशैँ तिहार छठ जस्ता चाडपर्व जमघट नगरेर यथास्थानमै मनाउन आग्रह गरेको छ भने स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्न चिकित्सकले सुझाव दिएका छन्। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस