कोरोनाबाट थप दुई जनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मोरङको बिराटनगर र सुनसरीको धरानमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको हो।
मोरङका कोरोना संक्रमितको घरमै र धरानका संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।
कोरोना संक्रमणपछि घरमै बसिरहेका बिराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको बिहीबार बिहान ६ः३० बजेतिर मृत्यु भएको बताइएको छ।
उनलाई १९ असोजमा कोरोना संक्रमण देखिएको थियो। उनमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएको थियो। परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पनि उनी आफ्नै घरमै बसिरहेका थिए।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीको धरान–१० घर भएका ३९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ।
असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए। बिहीबार बिहान ४ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।