कैलालीका १२ बर्षीय बालकको जीवन बचाउन सहयोगको याचना
धनगढी– कैलालीको गोदाबरी नगरपालिका–७ लालपुरका १२ बर्षीय बालक प्रकाश जोशीले ज्यान जोगाईदिन याचना गरेका छन्। नाक, कान र घाँटीमा स्मल ट्यूमर नामक प्राणघातक रोगबाट ग्रसित जोशीले ज्यान जोगाईदिन याचना गरेका हुन्। उनको विगत चार महिनादेखि विपी कोईराला मेमोरियल हस्पिटल चितवनमा उपचार भईरहेको छ। उनको उपचारका लागि करिब १० लाख खर्च लाग्ने बताइएको छ।
तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको छ। उनको घरमा चार दिदी, एक भाई र बुवाआमा छन्। उनका बुवा भारतको पंजाबमा मजदुरी गर्दै आएका छन्। उनलाई स्मल ट्यूमर भएपछि उनका बुवा लकडाउनको समयमा भारतबाट घर फर्किएका थिए। अहिले प्रकाशका बुवा पनि बेरोजगार छन्।
टाउकोका बिरामी समेत रहेका उनका बुवाले रुँदै भने, “आर्थिक अवस्था कमजोर भएकै कारण आफ्नो उपचार गर्न सकेन। भगवान पनि कति निर्दयी रहेछ अहिले छोरालाई पनि रोगी बनाईदियो।”
प्रकाशका बुवाआमा छोराको उपचारका लागि सहयोग संकलन गर्न थालेका छन्। स्मल ट्युमरले प्रकाशको हड्डीमा असर नगरेका कारण डाक्टरले उनलाई डेढ वर्ष सम्म नियमित अस्पतालको निगरानीमा उपचार गर्नुपर्ने बताएका छन्। छरछिमेकी र विभिन्न समूहबाट चार लाख ऋण निकालेर अहिले सम्म उपचार गरिएको छ भने अब आर्थिक अभावले उपचारमा समस्या देखिएको छ।
प्रकाशको उपचारका लागि एभरेष्ट बैंक लिमिटेडमा प्रकाशकी आमा दुर्गादेवी जोशीको नाममा रहेको खाता नम्बर ०१११०५०१२०५९१४ मा सहयोग गर्न सकिनेछ।