बाजुरामा एकै परिवारका ५ जना चार दिनदेखि बेपत्ता
बाजुरा– बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ५ स्थित कवाडीमा शुक्रबार बेपत्ता भएका एकै परिवारका ५ जनाको अवस्था अझै अज्ञात रहेको छ। कवाडीमा बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली, उनकी ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित बेपत्ता भएकी थिइन्।
सुरक्षाकर्मी र स्थानीय उनीहरूको खोजीमा लागीरहेका भएपनि सोमवार बिहानसम्म नभेटिएको बिच्छ्याँ प्रहरी चौकीले जनाएको छ। ‘शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला छोराछोरीसहित आमा बगेर बेपत्ता भएका थिए,’ बाजुराका प्रहरी नायब उपरीक्षक मदनजित महराले भने, ‘कवाडी खोलाबाट बगेर नजिकै रहेको कर्णाली नदीमा मिसिएको हुन सक्ने हुँदा त्यहाँ पनि खोजेका छौँ।’
कवाडी नदी र कर्णाली नदीको दुरी दुई सय मिटर मात्रै छ। घटना भएलगत्तै प्रहरी निरीक्षकको टोली खोजी कार्य गरीरहेको छ।