कञ्चनपुरको दैजीछेला र कैलालीको लम्कीमा औद्योगिक क्षेत्र स्थापनाका लागि डिपिआर तयार
लम्की औद्योगीक क्षेत्र औपचारिक घोषणामै ढिलाई
कञ्चनपुरको दैजीछेला र कैलालीको लम्कीमा औद्योगिक क्षेत्र स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । विस्तृत परियोजना प्रतिवेद डिपिआर तयार भएर पौष भित्रै बातावरणीय प्रभाव मुल्याङकनको प्रक्रिया टुङग्याउने तयारी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । कञ्चनपुरको दैजीछेलामा औद्योगीक क्षेत्र स्थापनाको प्रक्रियाले तिव्रता पाएपनि कैलालीको लम्की डुडेझारीमा भने औद्योगीक क्षेत्र भनेर औपचारीक रुपमै घोषणा गर्न बाँकी हुँदा प्रक्रिया सुस्त देखिएको छ । लम्कीमा औद्योगिक क्षेत्र स्थापनाको औपचारीक घोषणाका प्रक्रिया अगाडी बढेका बेला दैजीछलामा भने एक महिना भित्रै कार्यालय स्थापना गर्ने तयारी भईरहेको छ । पौष भित्रै वातावरणीय प्रभाव मुल्याङकनको काम टुङगो लगाएर अर्को आर्थिक बर्षबाट औद्योगिक क्षेत्र स्थापनाको काम सुरु गर्ने योजना राखिएको छ ।
२३ बर्षदेखि प्रक्रियामा रहेको कञ्चनपुरको दैजीछेला र अहिले सम्म औपचारीक घोषणा नै हुँन बाँकी कैलालीको लम्कीमा औद्योगिक क्षेत्र स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएर बातावरणीय प्रभाव मुल्याङकनको काम अगाडी बढेको हो । कञ्चनपुरको दैजीमा ९ सय विगाह क्षेत्रफलमा डिपिआर र वातावरणीय प्रभाव मूल्यांकनका लागि ४७ लाख १५ हजारको ठेक्का लागेको थियो भने कैलालीको लम्कीमा ११ सय विगाह क्षेत्रफलमा हुने औद्योगीक क्षेत्रको डीपीआर र वातावरणीय प्रभाव अध्ययनका लागि ६० लाख ५७ हजार ५ सय रुपैंयाँको ठेक्का लागेको थियो । डिपिआरको काम सकिएर अहिले वातावरणीय प्रभाव मुल्याङकनको प्रक्रिया अगाडी बढेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका उपनिर्देशक भोजराज विनाडीले बताए ।
२०५२ सालमा जिल्ला वन समन्वय समिति कञ्चनपुर र साविकको दैजी गाविसको निर्णय बमोजिम दैजीछेलामा औद्योगिक क्षेत्र स्थापनाको पहल सुरु भएको थियो । २०५६ असारमा जिल्ला वन समन्वय समितिले छेलामा स्थापना हुने औद्योगिक क्षेत्रलाई आवश्यक जमिन उपलब्ध गराउने सहमति गरेको थियो । २०७१ सालमा जनचेतना सामुदायिक वन र बेतकोट सामुदायिक वनले पनि जग्गा उपलब्ध गराउने निर्णय गरेका थिए । नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ चैत १ गतेको निर्णयले औद्योगिक क्षेत्र स्थापना गर्न चार किल्ला तोकीएको थियो भने एक बर्षपछि चार किल्ला संशोधन गरिएको थियो । पूर्वतर्फ छेलामुक्त कमैया बस्ती, पश्चिमतर्फ दैजी जोगबुढा सहायक राजमार्ग, उत्तरतर्फ वन क्षेत्र, दक्षिण तर्फ चाँदनीफाटा बस्ती गरि ९ सय विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना छ । त्यस्का लागि उद्योग सञ्चालन गर्न ईच्छुकबाट आवेद न पनि माग भईसकेको बेतकोट नगरपालिका मेयर अशोक कुमार चन्दले बताए ।
यता कैलालीको लम्की डुडेझारीमा स्थापना हुने भनिएको औद्योगीक क्षेत्रको औपचारीक घोषणा भने बाँकी छ । ११ सय विगाह क्षेत्रफलमा स्थापना हुने भनिएको औद्योगीक क्षेत्रका लागि प्रक्रिया भने अगाडी बढेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार भएर अहिले बातावरणीय प्रभाव मुल्याङकनको प्रक्रिया अगाडी बढेको छ । तर मन्त्री परिषदको बैठकले आधिकारीक घोषणा नगर्दा औद्योगीक क्षेत्र स्थापनाको प्रक्रिया सुस्त छ । मन्त्री परिषदलाई घोषणाका लागि औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडले सिफारीस गरेको जनाएको छ तर अझै औपचारीक घोषणा भने हुन बाँकी छ । कैलालीको लम्की र कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लास्टिक, इन्जिनियरिङ र मिनरल वाटर, कागज, सिमेन्ट र छड लगायतका १÷१ सयवटा उद्योग स्थापना गर्ने योजना राखिएको छ । औद्योगीक क्षेत्रको कामलाई तिव्रता दिन दैजीछेलामा त एक महिना भित्रै कार्यालय पनि खोल्ने तयारी भईरहेको छ । पौष महिना भित्रै वातावरणीय प्रभाव मुल्याङकनको प्रक्रिया टुङग्याएर अर्को आर्थिक बर्षदेखि भौतीक निर्माण सुरु गर्ने तयारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको छ ।