कैलालीको कैलारी गाउँपालिकामा खुले विद्यालय
धनगढी– कैलालीको कैलारी गाउँपालिकामा विद्यालय सञ्चालन भएका छन्। कोरोना भाईरसको संक्रमण रोकथामका लागि झण्डै ६ महिनादेखि बन्द रहेका विद्यालय सञ्चालन गरिएको हो। कैलारी गाउँपालिकाले कोभिड– १९ ले बन्द रहेका विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेसँगै त्यहाँस्थित विद्यालय सञ्चालनमा आएका हुन्।
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार वैकल्पिक शिक्षा प्रणाली अपनाई विद्यालय सञ्चालनमा ल्याएको हो। जसको लागि सबै विद्यालयलाई कार्ययोजना पेश गर्न निर्देशन दिएको र कार्ययोजना पेश भएपछि विद्यालय सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी बताए।
कार्ययोजना अनुसार वैकल्पिक शिक्षा प्रणालीलाई प्रभावकारी ढंगले अगाडि बढाइने अध्यक्ष चौधरीको भनाइ छ। अध्यक्ष चौधरीले वैकल्पिक शिक्षा प्रणाली अपनाई आवश्यक विधि, विद्यालय तथा विद्यार्थीको वर्गीकरण, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायसँग छलफल, अन्तरक्रिया गरी सुरक्षाका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन गरेको जानकारी दिए।
निर्देशिका अनुसार वैकल्पिक शिक्षा प्रणाली अन्तर्गत शिक्षण सिकाइ केन्द्र स्थापना र रेडियो, टीभी तथा अनलाइनबाट कक्षा लिने विद्यार्थीको वर्गीकरण गरी पठनपाठन गरिने छ। अनलाइन प्रविधिको पहुँच नरहेकाले विद्यार्थीलाई विद्यालयमै बोलाउनुपर्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ।