बैंगलोरमाथि पन्जाबको सहज जित
किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ। बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो।
बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे। यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए।
बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका रबि बिश्नोई र मुरुगान आश्विनले ३/३ विकेट लिए। सेलड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो।
पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले । उनले ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरे।
यस्तै मायांक अग्रवालले २६ तथा निकोलस पुरनले १७ रन बनाए । करुण नायर १५ रनमा अविजित रहे।
बैंगलोरका शिबम डुबेले २ तथा युजभेन्द्र चाहलले १ विकेट लिए।