सुदूर नेपाललाई विश्वसँग जोड्दै

१०१ वर्षमा नागरिकता पाइन बैतडीकी कमलाले

२०७७ असोज ७, ०२:०७ खबर संवाददाता

बैतडी: बैतडीको मेलौली नगरपालिका–२ कि १०१ वर्षीया कमला चन्दले हालसम्म बृद्ध भत्ता पाएकी थिइनन्। जेष्ठ नागरिकले पाउने भत्ताको लागि नागरिकता अनिवार्य भएपछि उनका ६३ वर्षीय छोरा मानबहादुर चन्द केहि समय अघि मात्रै जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

कमला हिडडुल गर्न नसक्ने र सवारीसाधनमा समेत आवतजावत गर्न नसक्ने भएका कारण प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले गाउँमै आएर नागरिकता दिने वाचा गरेका थिए। 

त्यहि अनुसार मंगलबार जिल्ला सदरमुकामबाट ३ घण्टा बढीको यात्रामा गएर उनले कमलालाई नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका छन्। पहिले नागरिकताबारे वास्ता नभएपनि भत्ता रोकिएपछि नागरिकता बनाउन प्रक्रिया थालेको छोरा मान बहादुरले बताए। 

त्यसपछि प्रमुख जिल्ला अधिकारीले घरमै आएर नागरिकता पदान गरेकोमा उनी हर्षित भएका छन्। यस्तै १०१ वर्षको उमेरमा नागरिकता पाउदा खुसी लागेको कमलाले बताइन्। 

गाउँमै पुगेर जेष्ठ नागरिक आमालाई नागरिकता दिन पाउदा आनन्दको अनुभुती भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए। अब आमाको भत्ता नरोकिने भन्दै उनले छोरालाई भने, ‘जेष्ठ नागरिकको सुरक्षाको लागि सरकारले पनि केहि रकम दिने गरेको छ। आएको भत्ताबाट आमाको राम्राे स्याहर गर्नुहोला।’   

 

कमेन्ट लोड गर्नुस