सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका स्कुले बालबालिका रोजगारीका लागि भारत जाँदै

२०७७ भदौ २९, ०८:१६ कमल सावद

धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर २ का विशाल आइतबार गौरीफन्टा सीमानाकामा भारत जानका लागि बस खोज्दै थिए। कक्षा ६ मा अध्ययन गर्दै आएका विशालको विद्यालयमा कोरोना महामारीपछि पठनपाठन बन्द भयो। उनी अहिले कामको खोजीमा भारततर्फ हिडिरहेका हुन्।

परिवारका अन्य सदस्यहरुसँगै उनले पनि भारत जाने योजना बनाएको बताए। उनले भने, ‘विद्यालय कोरोनाका कारण बन्द छ। धेरै समय भयो पढाई भएको छैन्। आमा–बुवा पनि भारतमै छन्। म आन्टीसंग जान लागेको हुँ।’ आइतबार गौरीफन्टा सीमा क्षेत्रमा अन्य स्कुले उमेर समुहका बालबालिकाहरु पनि भारत जानका लागि तयार थिए। ती मध्ये धेरैको त नागरिकता समेत थिएन।

भारतले रासनकार्ड र आधारकार्ड भएका नेपालीहरुलाई मात्र सीमाबाट प्रवेश दिइरहेका बेला स्कुले उमेरका बालबालिका समेत कामको खोजीमा भारतर्फ जान थालेको पाइएको हो। उनीहरुलाई सीमा पार गर्ने पूर्ण जिम्मेवारी बस सञ्चालकहरुको थियो। उनीहरु भन्दै थिए, ‘हामीले प्रहरीसँग कुरा गरेका छौ। उनीहरुलाई भारत प्रवेश गराउने जिम्मा हाम्रो भयो।’

सुदूरपश्चिम मात्र नभएर सीमानाकाबाट कर्णाली प्रदेश, प्रदेश नम्बर ५ का बालबालिका समेत सुदूरपश्चिमका सीमा नाकाबाट भारत जाँदैछन्। उनीहरु भारतको सिमला लगायतका क्षेत्रमा कामको खोजीमा जान थालेका हुन्। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश नम्बर ५ का सयांै युवाहरु अहिले कामको खेजीमा भारत जाँदैछन्।

नेपालमा रोजगारीका अवसरहरु नभएको भन्दै उनीहरु भारत जान तयार भएको बताउँछन्। तर विद्यालय जाने उमेरका बालबालिकाहरु भारत गइरहेको विषयमा भने स्थानीय प्रशासनले जानकारी समेत नभएको बताएको छ। कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले यसबेला बालबालिका कामको खोजीमा भारत गएको बारेमा आफुलाई जानकारी नभएको बताए।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस