सुदूरपश्चिममा तीन वर्षमा १४९४ जनाद्वारा आत्महत्या, गरिबी र शहरीकरण प्रमुख कारण
धनगढीः आत्महत्या विरुद्धको विश्व दिवस आज नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ।
आत्महत्या गर्नबाट रोकथाम गर्ने उपायको खोजी र सचेतना फैलाउने उद्देश्य सहित हरेक वर्ष सेप्टेम्बर १० मा मनाउने गरिएको आत्महत्या विरुद्धको दिवस सुदूरपश्चिममा पनि मनाईदैछ। तर सुदूरपश्चिममा पछिल्लो समय आत्महत्या विकराल समस्याका रुपमा देखा परेको छ।
प्रदेशमा बितेको तीन वर्षको तथ्याङक हेर्दा झण्डै १५ सय जनाले आत्महत्या गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷७५ देखि २०७६÷७७ सम्म एक हजार चार सय ९४ जनाले आत्महत्या गरेका छन्।
आर्थिक वर्ष २०७४÷७५ मा चार सय ७६ जनाले आत्महत्या गरेका छन् भने आर्थिक वर्ष २०७५÷७६ मा चार सय ८२ र आर्थिक वर्ष २०७६÷७७ मा पाँच सय ३६ जनाले आत्महत्या गरेको प्रहरी प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ।
पहाडी जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा आत्महत्या गर्नेको संख्या धेरै रहेको छ। तीन वर्षको अवधीमा कैलालीमा कुल संख्याको झण्डै आधा ६ सय २२ जनाले आत्महत्या गरेका छन् भने कञ्चनपुरमा पनि सोही हारहारीमा अथात् चार सय ५२ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
यस्तै तीन वर्षको अवधीमा डोटीमा ६७, अछाममा ६६, डडेल्धुरामा ६८, बैतडीमा ८१ जना, बझाङमा ४०, दार्चुलामा ५९ जना र बाजुरामा ३९ जनाले आत्महत्या गरेका छन्।
लकडाउन र निषेधाज्ञामा मात्रै तीन सय बढिले गरे आत्महत्या
सुदूरपश्चिममा लकडाउन र निषेधाज्ञापछि मात्रै तीन सय बढिले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतदेखि जारी एक सय २० दिनको लकडाउन र त्यसपछिको निषेधाज्ञामा तीन सय ६ जनाले आत्महत्या गरेका छन्।
चैत ११ देखि साउन असार मसान्त सम्म दुई सय २४ जनाले आत्महत्या गरेको तथ्याङ्क छ भने साउन १ गतेदेखि हाल सम्म ८२ जनाले आत्महत्या गरिसकेका छन्। साउनमा मात्र ५२ जनाले आत्महत्या गरेको देखिन्छ।
प्रहरीले आत्महत्या विकराल समस्या बन्दै जानुका विभिन्न कारण रहेको बताउँदै आएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी) मुकेश सिहले आत्महत्याका पछाडी सामाजिक, आर्थिक, पारिवारिक पक्ष जोडिएको बताए।
‘सुदूरपश्चिममा आत्महत्या गर्ने क्रम वर्षेनी बृद्धि हुदै गएको छ।’ प्रहरी वरिष्ठ उपरिक्षक सिंहले भने, ‘आत्महत्याका घटनाको अनुसन्धान गर्दै जादा अधिकांशमा गरिबी, पारिवारीक कलह, आर्थिक असफलता, चरम घरेलु हिंसाका कारण मान्छे आत्महत्या गर्न प्रेरित भएको देखिन्छ।’
उनी विविध कारणबाट मानिस मानसिक तनावको सिकार बनेर आत्महत्या रोज्न बाध्य भएको देखिएतापनि समयमै घर परिवार, साथीभाईले समस्याको पहिचान गरे जोगाउन सकिने विश्वास व्यक्त गर्छन्। आत्महत्या न्यूनिकरण गर्न प्रहरीले जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै प्रहरी वरिष्ठ उपरिक्षक सिहले समाज र परिवारका अन्य सदस्यको समेत न्यूनिकरणमा महत्वपूर्ण भूमिका हुने बताउँछन्।
‘आत्महत्या गर्ने मानिस घोक्राउने, टोलाउने, पूराना साथीहरुसँग सम्पर्क गर्ने, काममा ध्यान नदिने, एकान्तमा बस्न खोज्ने स्वभाव देखाउँन थाल्छन्।’ उनले भने,‘त्यस्तो अवस्थामा उसको समस्या के हो ? भनेर पहिचान गर्नतीर ध्यान दिएर समाधान निकाल्ने हो भने आत्महत्याबाट बचाउन सकिन्छ।’
बढ्दो शहरीकरण पनि आत्महत्याको प्रमुख कारकत्व भएको प्रहरीले बताउँदै आएको छ। प्रदेशका तराईका जिल्लामा आत्महत्याको दर बढि देखिनुले पनि शहरमा हुने अभावले आत्महत्या बढाएको बताइन्छ। शहरमा बस्नेहरु गरीबीका कारण शिक्षा र रोजगारी नपाउने समस्याबाट पीडित भई आत्महत्याको बाटो रोज्ने गरेको पाईन्छ भने अवैध शारीरीक सम्बन्धका पनि अर्को कारण भएको प्रहरीको भनाई छ।
मानसिक रोग विशेषज्ञ डाक्टर प्रज्वल थापा पनि डिप्रेसनको सिकार भई मानिस आत्महत्याको अवस्था सम्म पुग्ने गरेको बताउँछन्।
उनले लागु औषध सेवन, गरिबी, बेरोजगारी समस्याबाट डिप्रेसनमा गएर आत्महत्या गर्न बाध्य हुने गरेको देखिएको बताए।
उनले निराशावादी कुरा गर्ने मानिसहरुले बढिजसो आत्महत्या गरेको देखिएको बताउँदै समयमै उचित परामर्श पाएमा बचाउन सकिने बताए।