सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जोखिमपूर्ण क्षेत्र सिल गरी परीक्षण बढाउन सुझाव

२०७७ भदौ २०, ११:२६ जनक विष्ट

धनगढीः कैलालीमा कोरोनाको सामुदायिक संक्रमण देखा परेकाले महामारीको चरणमा प्रवेश गर्न नदिन गम्भीर रुपमा लाग्न आग्रह गरिएको छ। स्थानीय तह, प्रदेश सरकार लगायतका सम्बद्ध निकायले कोरोनालाई महामारीका रुपमा फैलिन नदिन गम्भीर भएर काम गर्न आग्रह गरिएको हो।

प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना भाईरसको सामुदायिक संक्रमण देखिएपछि महामारीको चरणमा प्रवेश गर्न नदिन गम्भीर रुपमा रोकथाम तथा नियन्त्रणमा काममा लाग्न सुझाव दिईएको हो। कोरोनाको संक्रमण थप फैलिन नदिन भन्दै जिल्लाभर नै लकडाउन र निषेधाज्ञा लागु गरिदै आएकोमा अब भने मोडालिटी परिवर्तन गर्दैै स्थान र क्षेत्र विशेषको अवस्था यकिन गर्नुपर्ने देखिएको छ।

विज्ञहरुले समग्र पालिका, जिल्ला वा प्रदेशभर लकडाउन र निषेधाज्ञा जारी गर्नुको सट्टा संक्रमित भेटिने क्षेत्रलाई निश्चित समयका लागि सिल गरी परीक्षणको दायरा बृद्धि गर्नुपर्ने बताएका छन्। स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डाक्टर लक्ष्मीराज पाठकले कोरोना संक्रमित भेटिने क्षेत्रलाई सिल गरी वरपरका व्यक्तिको परीक्षण गरी अवस्था यकिन गर्नुपर्ने सुझाव दिए।

उनले समग्र जिल्ला वा नगर सिल गरेर कोरोना नियन्त्रण तथा रोकथाम गर्न नसकिने बताए।  धनगढी उप–महानगरपालिकाले सामुदायिक संक्रमण फैलिन थालेपछि पहिलो चरणमा ८ वटा वडामा स्थानीय स्तरमै स्वाब संकलन गरी परीक्षणको काम थालिएको जनाएको छ। तर उप–महानगरपालिकाले विभिन्न वडालाई पायक पर्ने गरी धनगढीमै छुट्टाछुट्टै स्थानमा स्वाब संकलन गर्ने समेत स्थापना गरिरहेको छ।

त्यसरी छुट्टै स्वाब संकलन केन्द्र स्थापना गरेपछि कोरोना आशंकामा केन्द्र सम्म पुग्ने व्यक्ति सार्वजनिक तथा निजी सवारी साधनको प्रयोगकको माध्यमबाट अन्यको सम्पर्कमा समेत जाने भएकाले जोखिम बढ्ने देखिएको छ। तर शुक्रबारदेखि संक्रमित भेटिने क्षेत्रलाई सिल गरी परीक्षण गर्न थालिएकाले जोखिम नहुने उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए।

उनले संक्रमित भेटिने क्षेत्रलाई सिल गरेर परीक्षणलाई तिव्र बनाईएको दावी गरे।  सामुदायिक संक्रमणको अवस्था पत्ता लगाउन टोलमै पुगेर नमूना संकलनको काम थालिएकाले परीक्षणको दायरा थप बृद्धि गरिएको दावी गरिएको छ।

तर उप–महानगरपालिकासँग पर्याप्त प्राविधिक जनशक्ति नहुँदा समस्या हुने देखिएको छ। यता जिल्ला प्रहरी कार्यालयले समेत कोरोनाको संक्रमण थप फैलिन नदिनका लागि स्थानीय तहसँगको समन्वयमा संक्रमित देखिने क्षेत्रलाई सिल गरिरहेको जनाएको छ।

त्यसका लागि छुट्टै टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए। चिकित्सकहरुले कोरोनाका लक्षण देखा परे वा संक्रमणको आशंका लागेमा छुट्टै आईसोट भएर बस्न र परीक्षण गर्न सुझाव दिएका छन्।  

  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस