धनगढी ‘दिसा’ प्रकरण : छानविन समितिले बुझाएको प्रतिवेदन थन्कियो
धनगढीः धनगढी उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीको कुर्सीमा दिसा भेटिएको प्रकरणमा गठित छानविन समितिले बुझाएको प्रतिवेदन थन्कीएको छ।
उप–महानगरपालिकाका प्रशासकिय अधिकृत सुरेन्द्र कार्कीको संयोजकत्व गठित तीन सदस्यीय छानविन समितिले गत साउन २४ गते प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो।
तर प्रमुख प्रशासकिय अधिकृत सापकोटाले प्रतिवेदन आधिकारिक रुपमा अझै आफू कहाँ पेश नभएको बताउँदै आएका छन्। ‘प्रतिवेदन आधिकारिक रुपमा म कहाँ आईपुगेको छैन्।’ उनले भने, ‘छानविन समितिसँग अनौपचारिक कुराकानी भईरहेको छ।
तथ्यगत कुरा र आधिकारिक प्रमाण केही पनि फेला नपरेकाले दिसा के को हो ? भनेर यकिन गर्न सकिएको छैन्।’ तर सिसी टिभी फुटेजलाई विश्लेषण गर्दा योजना शाखा प्रमुखको कोठामा बिरालो गएको देखिएकाले बिरालाकै दिसा हो की भन्ने आशंका भएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए।
तर शाखा प्रमुखको कुसीमा भेटिएको दिसा मानिस वा बिरालाको हो भनेर यकिन भने गरिएको छैन्। दिसा के को हो? भनेर पत्ता लगाउन ल्याब परीक्षण गर्नुपर्छ तर उप–महानगरपालिकाले दिसा भेटिएकै दिन नष्ट गरेपछि प्रमाण नहुँदा पत्ता लगाउन नसकिएको दावी गरिएको छ।
स्रोतका अनुसार छानविन समितिले बुझाएको प्रतिवेदन प्रमुख प्रशासकिय अधिकृत सापकोटाले कार्यपालिकामा बैठकमा लगेका थिए। तर बहुमत कार्यपालिका सदस्यले त्यस्तो प्रतिवेदनमाथि पनि के छलफल गर्ने भन्दै अस्वीकार गरेपछि पेश नभई फिर्ता भएको थियो।
यसअघि गत साउन पहिलो साता उपमहानरपालिकाका योजना शाखा प्रमुख जोशीको कुर्सीमा दिसा भेटिएपछि प्रमुख प्रशासकिय अधिकृतले छानविन समिति गठन गरेको थियो।
सम्बन्धीत समाचार
शाखा प्रमुखको कुर्सीमा 'दिसा' राखेपछि धनगढी उपमहानगरपालिकामा हंगामा