बैतडीको डिलाशैनीका पहिरो पीडित पालमुनी, १५ दिनसम्म कसैले गरेन सहयोग
बैतडी: बैतडीको डिलाशैनी गाउँपालिका –६ सौनगाउँका पहिरो पीडित त्रिपालमुनी बस्न बाध्य भएका छन्। भदौ २ गतेको वर्षासंगै गएको पहिरोले ८ परिवार बस्ने ३ ओटा घर भत्काएपछि पहिरो पीडितहरु नजिकैको विद्यालयको प्रांगणमा त्रिपाल हालेर बसीरहेका स्थानीय हरिदत्त जोशीले बताए।
स्थानीय प्रेमराम लुहार, काशीराम लुहार, नारायण लुहार, बहादुर लुहार, शिवराम लुहार, धनीराम लुहार, बीरराम लुहार र पदमराम लुहारको परिवार पहिराले घर भत्काएपछि विस्थापित भएका हुन्। अहिले पीडितहरुलाई गास, बास र कपासको समस्या भइरहेको छ।
आठ परिवार मध्ये २ परिवार नजिकैको मठैराज आधारभूत विद्यालयको कोठामा बसीरहेका छन् भने अन्य परिवार विद्यालयको प्रांगणमा त्रिपाल टाँगेर बसीरहेका छन्। पहिरोले घर भत्काएपछि घर बनाउने जमीन समेत बाँकी नरहेको प्रेमराम लुहारले दुखेसो गरे।
पहिरोले विस्थापित भएपछि वडा कार्यालयबाट ४ त्रिपाल र साडा नामक गैरसरकारी संस्थाबाट ४ त्रिपाल बाहेक अन्य कुनै सहयोग प्राप्त नभएको उनीहरुले बताएका छन्। ‘१५ दिन भइसक्यो बच्चाहरुले के खाने, कसैले आजसम्म हेरेनन्’ पहिरो पीडित प्रेमराम लुहारले भने। विस्थापित परिवारलाई खानेपानी, शौचालयको समेत समस्या भइरहेको लुहारले बताए।